सर्लाही । सर्लाहीको इश्वरपुर नगरपालिका–९ रामनगरमा लामो समयदेखि जारी खडेरी र वर्षाको अभावलाई टार्न स्थानीय थारु समुदायले परम्परागत धार्मिक विश्वास अनुसार सांसदहरूसँग हलो जोत्न लगाउने कार्यक्रम सम्पन्न गरेका छन्।
स्थानीय कृषकहरूले खेतमा वर्षाको पानी नपरेर बाली रोपाइँ गर्न नसकिरहेको अवस्थामा संघीय सांसद रामप्रकाश चौधरी र प्रदेशसभा सदस्य उर्मिला सिंह थारुलाई हलो समात्न लगाई, इन्द्र भगवानलाई प्रसन्न पार्ने परम्परागत विधि अनुसार रोपाइँ कार्यक्रम गरिएको हो।
रामनगर गाउँका महिलाहरूले सांसद चौधरी र प्रदेश सांसद थारुलाई प्रतिकात्मक रूपमा प्रहरी पोशाकमा “पक्राउ” गरी खेतमा लगे, अनि हलोसँग जोतेर धान रोप्ने दृश्य प्रदर्शन गरेका थिए।
सांसदहरू हलो समातेर अघि बढ्दा महिलाहरूले आफैंले जुवाको दुवै किनार समातेर गोरुको ठाउँमा काम गर्दै परम्परागत शैलीमा खेत जोते। त्यसपछि उनीहरूले महादेवको पूजा गर्दै वर्षाका लागि प्रार्थना पनि गरे।
स्थानीय अगुवा, समाजसेवी र जनप्रतिनिधिहरूको उपस्थिति रहेको सो कार्यक्रममा थारु समुदायले परापूर्वकालदेखि चलिआएको परम्परालाई पुनः दोहोर्याउँदै यस्तो प्रतीकात्मक प्रयास गरेका हुन्।
पुर्खाले वर्षा नहुँदा मानिसले नै हलो जोतेपछि इन्द्र भगवान प्रसन्न भई पानी पारेको परम्परागत मान्यता अनुसार कार्यक्रम गरिएको बताइएको छ।
सर्लाहीमा यस वर्ष पर्याप्त वर्षा नहुँदा धानको रोपाइँमा असर परेको छ। रामनगर जस्ता अकाशे पानीमा निर्भर गाउँहरूमा बाली रोप्न नसकिएको र किसान खेत बाँझै राख्न बाध्य भएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
कार्यक्रमका सहभागीहरूले प्राकृतिक प्रकोपका बेला धार्मिक-सांस्कृतिक उपायको सहारा लिएर समाजमा एकता र चेतना फैलाउने प्रयास गरिएको बताएका छन्।