×

राजविराज । सप्तरीमा अवैध लागुऔषध कारोबारमा संलग्न दुई युवकलाई प्रहरीले हवाई फायर गर्दै नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बडिविरपुर–१ का विशाल राय र डाक्नेश्वरी–७ का मनोज राय रहेका छन्।

सप्तरीका प्रहरी प्रमुख एसएसपी कृष्ण कोइरालाका अनुसार, दुवै युवकलाई शंकास्पद गतिविधिमा संलग्न देखिएपछि नियन्त्रणमा लिन खोज्दा प्रतिरोध गरेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको थियो। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाहरूको साथबाट करिब २०० ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

लागुऔषधसहित पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको र घटनासम्बन्धी थप विवरण संकलनको काम जारी रहेको प्रहरीको भनाइ छ।

प्रहरीले लागुऔषध कारोबारविरुद्ध जिल्लामा निगरानी र कारबाही अभियानलाई थप कडाइ गर्ने जनाएको छ।

Back to top