×

आँप स्वादिलो र पोषणले भरिपूर्ण फल हो, जुन गर्मी याममा निकै लोकप्रिय मानिन्छ। तर यो स्वादिलो फलसँग केही खाद्य वस्तु मिसाएर खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। विशेषज्ञहरूका अनुसार, केही खानेकुरा आँपसँगै वा त्यसपछि तुरुन्तै खानाले पाचनतन्त्रमा असर पार्न सक्छ र अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

यी हुन् आँपसँग खान नहुने ५ खानेकुरा :

१. मसालेदार खानेकुरा
आँप खाएपछि वा त्यससँगै मसालेदार खाना खाँदा छाती जल्ने, एसिडिटी र अपचजस्ता समस्या हुन सक्छन्। यी दुवै चीजको संयोजनले पेटमा अम्लता बढाउँछ, जसले असहजता पैदा गर्न सक्छ।

२. पानी
आँप खाएपछि तुरुन्तै पानी पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यसले पाचन प्रक्रियामा बाधा पुर्‍याउँछ र ग्यास, अफ्ठ्यारो महसुस हुने, वा पेट फुल्ने समस्या ल्याउन सक्छ।

३. करेला
आँप खाएपछि तुरुन्तै करेला खानु पनि स्वास्थ्यको दृष्टिकोणले सही मानिदैन। यसले वान्ता, वाकवाकी तथा स्वासप्रश्वाससँग सम्बन्धित समस्या उत्पन्न गराउन सक्छ।

४. हरियो खुर्सानी
हरियो खुर्सानी र आँपको संयोजन पनि स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ। दुबैमा तेज हुने भएकाले पेट दुख्ने, जलन हुने वा अपच हुने सम्भावना रहन्छ। यदि खुर्सानी खानै परे, कम्तीमा पनि दुई घण्टा कुर्नु उपयुक्त हुन्छ।

५. कार्बोनेटेड ड्रिंक्स
आँप खाएपछि चिसो पेय पदार्थ, विशेषगरी कार्बोनेटेड ड्रिंक्स (जस्तै कोल्ड ड्रिंक्स) पिउनु पनि उचित हुँदैन। यीनीहरुमा अत्यधिक चिनी हुन्छ, जुन आँपमा पहिल्यै प्रचुर मात्रामा पाइन्छ। दुबैको संयोजनले रक्तमा चिनीको मात्रा अत्यधिक बढाउन सक्छ, जसले मधुमेह र मोटोपनको जोखिम बढाउँछ।

आँप स्वास्थ्यका लागि फाइदाजनक भए पनि त्यससँग के खाने भन्नेमा सावधानी अपनाउनु जरुरी छ। सही संयोजन नअपनाउँदा स्वादिलो फल पनि स्वास्थ्य समस्या निम्त्याउने कारण बन्न सक्छ।

Back to top