×

वीरगञ्ज । अन्तर्राष्ट्रिय युवा दिवस (१२ अगस्ट) का अवसरमा नेपाली युवा उद्यमी मञ्च (NYEF) वीरगञ्ज च्याप्टरको आयोजनामा “राष्ट्रका लागि र्‍याली - नेपालमा निर्मित र्‍याली” र “युवा उद्यमी सम्मेलन” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम NYEF वीरगञ्ज च्याप्टरका अध्यक्ष विश्वास प्रताप शाहको अध्यक्षतामा सञ्चालन गरिएको थियो।

कार्यक्रमको सुरु गहवा माई मन्दिर अगाडिबाट र्‍यालीबाट भएको थियो, जसमा विभिन्न स्कूल–कलेजका विद्यार्थी, NYEF का सदस्यहरू, पूर्व अध्यक्ष (IPP), उद्यमी तथा स्थानीय बासिन्दाहरूले सक्रिय सहभागिता जनाए। सहभागीहरूले “स्वदेशी उत्पादनलाई प्रवर्द्धन गरौं, उद्यमशीलतालाई विकास गरौं” जस्ता सन्देशमूलक नाराहरू दिएका थिए।

टाउन हलमा सम्पन्न  युवा उद्यमी शिखर सम्मेलनमा आइस-ब्रेकिंग सत्र सरोज ताम्राकारले सञ्चालन गरे। मुख्य वक्ता श्रीमती प्रिया सिग्देल र सरोज ताम्राकारले उद्यमशीलता र नवप्रवर्तन सम्बन्धी अनुभव र प्रारम्भिक चुनौतीहरू साझा गरे।

कार्यक्रममा स्टार्टअप क्लिनिक को औपचारिक शुभारम्भ मधेश प्रदेश सरकारका खेलकुद तथा सामाजिक कल्याण मन्त्री प्रमोद जयसवाल र NGC कार्यकारी सदस्य  तथा  कारखाना संस्थापक पवित्र गौतमले संयुक्त रूपमा गरे। उक्त डिजिटल प्लेटफर्मले उद्यमीहरूलाई मार्गदर्शन, लगानी र पहिचानका अवसरहरू प्रदान गर्ने उद्देश्य राखेको छ।

यस अवसरमा तीन जना नयाँ सदस्य NYEF वीरगञ्ज च्याप्टरमा स्वागत गरिए। साथै, समाजमा नविन सोचमार्फत पहिचान स्थापित गरेका चार उद्यमीहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा मधेश विश्वविद्यालय का उपकुलपति डा. दिपक शाक्य, NGC कार्यकारी सदस्य पवित्र गौतम, उद्यमी सरोज ताम्राकार, FNCCI केन्द्रीय सदस्य सुभोद गुप्ता, पर्सा जिल्ला

एसपी गौतम मिश्र लगायतका विशिष्ट अतिथिहरू उपस्थित थिए।

कार्यक्रमका विद्यार्थी सहभागीमा  ममता विद्या मन्दिर कलेज, सनलाइट कलेज, ब्राइट कलेज, बीपीएस कलेज, बीपीसी कलेज, नेशनल इन्फोटेक कलेज, अल्पाइन एकेडेमी, ज्ञान एकेडेमी, एभरग्रीन नर्सिङ कलेजलगायतका विद्यालय र कलेजका विद्यार्थी रहेका थिए।

कार्यक्रमको शीर्षक प्रायोजक म्याट्रिक्स प्रिन्टर थियो भने हेल्भेटास नेपाल ले सहयोग गर्यो। फ्रेग्रेन्स पार्टनर फोग, क्लोदिङ पार्टनर एमबी फेसन, तथा फिटनेस पार्टनर ट्रिगर आउट।

Back to top