वीरगञ्ज । इजरायली सेनाले गाजा कब्जा गर्ने गरी स्थलगत आक्रमणको तयारी सुरु गरेको छ ।
सेनाका प्रवक्ताका अनुसार सेनाले गाजाको वरिपरिको क्षेत्रलाई नियन्त्रणमा लिइसकेको छ र जेईतोन र जाबालिया क्षेत्रमा सैन्य गतिविधि सुरु भएको छ ।
इजरायली रक्षा मन्त्री इजरायल क्याट्जले मङ्गलवार आक्रमणलाई स्वीकृति दिएका थिए । सैन्य योजना अनुसार, लगभग ६० हजार रिजर्भ सेनालाई सेप्टेम्बरको सुरुमै सक्रिय गरिनेछ ।
यसैबिच हमासले इजरायललाई युद्ध विरामको सम्झौतामा अड्चन पुर्याउने आरोप लगाएको छ । इजरायलले गाजा कब्जा गर्ने गरी आक्रमण सुरु गरेपछि विश्वका नेताहरूले यसको विरोध गरेका छन् ।
बिबिसीका अनुसार फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले यस्तो आक्रमण दुवै देशका जनताका लागि विनाशकारी हुने सम्पूर्ण क्षेत्रलाई स्थायी युद्धमा धकेल्ने बताए ।
अन्तर्राष्ट्रिय रेड क्रस समितिले गाजाको २१ लाख जनसङ्ख्याका लागि स्थिति झन् कष्टकर बन्ने चेतावनी दिएको छ । गाजा युद्धमा हालसम्म ६३ हजार मानिसको मृत्यु भइसकेको छ ।
इजरायलले सुरु गरेको आक्रमणले हमासद्वारा बन्धक बनाइएको व्यक्तिहरूको रिहाइसमेत अनिश्चित बन्ने देखिएको छ ।