×

वीरगञ्ज महानगरपालिकामा लामो समयपछि पुनः सम्भावित हैजाको प्रकोप फैलिएको पुष्टि भएको छ । केही दिनयता विभिन्न वडामा अचानक डायरिया र वान्ताजस्ता बिरामीहरू बढ्दै गएपछि गरिएको प्रयोगशाला परीक्षणमा हालसम्म ४२ जनामा हैजा पुष्टि भएको छ भने करिब १२९ जना उपचाररत छन् । आज हामी यसै सन्दर्भमा रहेर हैजाको विषयमा जानकारी दिने छौँ ।

हैजा के हो? 
हैजा भिब्रियो कोलेरी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रामक रोग हो । यो दूषित पानी वा खानाबाट सर्छ । यसले अत्यधिक पानीजस्तो पखाला, वान्ता, पेट दुखाइ, शरीरमा पानीको कमी, आँखाको भित्र धसिनु, स्नायुमा ऐंठन जस्ता लक्षण देखाउँछ। समयमै उपचार नपाए घण्टाभित्रै ज्यानसमेत जोखिममा पर्न सक्छ।

सरकारले चालेका कदम:
अस्पतालहरूलाई हैजा/डायरिया बिरामीका लागि छुट्टै बेड व्यवस्थापन गर्न निर्देशन
स्वास्थ्य टोली परिचालन गरी घरदैलो जनचेतना र स्वच्छता अभियान
प्रभावित क्षेत्रमा पानीको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइने व्यवस्था
औषधि, परीक्षण किट र आवश्यक सामग्री आपूर्ति

जनचेतनाका लागि सुझाव:
१. सुरक्षित खानेपानी प्रयोग गर्नुपर्छ – उमालेर वा क्लोरिन हालेर मात्र पिउनुहोस्।
२. हात धुने बानी अपनाऔं – साबुनपानीले पटक–पटक विशेषगरी शौचालय प्रयोगपछि र खाना खानुअघि।
३. लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस् – पखाला, वान्ता वा पानीको कमी भए ढिला नगरी उपचार लिनुपर्छ।
४. सडक खाद्यवस्तु नखाऔं – स्वास्थ्य प्राधिकरणले सुरक्षित घोषणा नगरेसम्म।
५. समुदायमा जानकारी फैलाऔं – हैजा फैलिन नदिन सजगता सबैले अपनाउनुपर्छ।

हैजा रोकथाम र नियन्त्रण केवल सरकारले मात्र होइन, हाम्रो व्यक्तिगत सावधानी र सामूहिक जिम्मेवारीमा पनि निर्भर गर्दछ। स्वच्छ पानी, सरसफाइ र सचेत व्यवहारले धेरै ज्यान बचाउन सक्छ। 

डा. बिशाल प्रताप शाह (MBBS , MD Internal Medicine)

Back to top