अष्ट्रेलियामा आप्रवासन नीतिको विरोध गर्दै मार्च फर अस्ट्रेलिया नामक प्रदर्शन विभिन्न प्रमुख शहरमा सुरू भएको छ।
मेलबर्न, सिड्नी, ब्रिजबेन र एडिलेडमा प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा बोकेर र नारा लगाउँदै सडकमा मार्च गरेका छन्। सहभागिता जनाउन नसक्ने केही व्यक्तिहरूले घरमै राष्ट्रिय झण्डा फहराएका छन्। अहिलेसम्मका धेरै प्रदर्शन शान्तिपूर्ण देखिएका छन्।
तर मेलबर्नको सिबिडिक्षेत्रमा भने आप्रवासन विरोधी प्रदर्शनकारी र प्यालेस्टाइन समर्थकबीच झडप भएको छ। घटनापछि सुरक्षाकर्मीको बाक्लो उपस्थिति कायम गरिएको छ। अन्य शहरमा भएका प्रदर्शन भने तुलनात्मक रूपमा शान्तिपूर्ण छन्, जसमा आप्रवासन कटौतीको मागसहितका नारा र प्लेकार्ड देखिएका छन्।
यसैबीच, मार्च फर अस्ट्रेलिया मा अष्ट्रेलियन पार्टीका वरिष्ठ नेताहरूको समेत सहभागिता रह्यो। पार्टीका प्रमुख तथा संघीय सांसद बब क्याटर र उनका छोरा, पार्टी नेता रोबी क्याटरले प्रदर्शनलाई सम्बोधन गर्दै आप्रवासन नीतिबारे कठोर कदम चाल्नुपर्ने आवश्यकता दोहोर्याए।