काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ध्वनि प्रदूषण नियन्त्रणका लागि सर्वसाधारणलाई विशेष आग्रह गरेको छ। प्रहरीका अनुसार ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले फोन कल गर्दा आवाज कम गर्न वा हेडफोन प्रयोग गर्न अनुरोध गरिएको हो।
प्रहरीले सार्वजनिक सूचना जारी गर्दै ध्वनि प्रदूषणका कारण गर्भवती महिला, मुटु रोगी, वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर पर्ने जनाएको छ। यसले सर्वसाधारणको सामाजिक, आर्थिक क्रियाकलाप तथा नैतिक मूल्य मान्यतामा समेत नकारात्मक प्रभाव पार्ने प्रहरीले जनाएको छ।
घर–परिवार र छिमेकीको हितका लागि प्रहरीको सुझाव : राति अनावश्यक आवाज नगर्नु, फोन कल गर्दा आवाज कम गर्नु वा मेसेजमार्फत संवाद गर्नु, टेलिभिजन वा म्युजिक सिस्टम ठूलो आवाजमा नबजाउनु, अबेरसम्म नाचगान र म्युजिक पार्टी नगर्नु, सङ्गीत अभ्यास गर्दा ध्वनि नियन्त्रण गर्ने उपकरण प्रयोग गर्नु, बिहानको नित्यकर्ममा अनावश्यक खोक्ने–खकार्ने नगर्नु प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले कारबाही गर्दै ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ।
यस्ता गतिविधिले टोल–छिमेकमा डिस्टर्व भएमा तत्काल १०० वा १०३ नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था रहेको प्रहरीले जनाएको छ।