बालबालिकाको लागि स्क्रिन समय कति सुरक्षित छ भन्ने कुरा धेरै अनुसन्धान र अध्ययनहरूका बाबजुद, अझै पनि स्पष्ट छैन । न त यसको लागि कुनै अन्तर्राष्ट्रिय मापदण्ड छैन।
प्रत्येक बालबालिका फरक हुने भएकाले, उनीहरूको आवश्यकता पनि फरक हुन्छ। विज्ञानले सही राय दिन पर्याप्त तथ्याङ्क सङ्कलन गरुन्जेल सम्म प्रविधि र समाज कयौँ अगाडि बढिसकेको हुन्छ।
यस अवस्थामा, डाक्टर, मनोवैज्ञानिक, नशा (लत) विशेषज्ञ र मिडिया शिक्षासँग सम्बन्धित व्यक्तिहरू केही आधारभूत सिद्धान्तहरूमा सहमत देखिन्छन्। ती सिद्धान्तहरू बालबालिकाको उमेर र विकास चरणहरूसँग सम्बन्धित छन् र ‘दुर्घटनाभन्दा सावधानी राम्रो हो’ भन्ने नियम पालना गर्छन्। अर्थात्, पछि पछुताउनु भन्दा पहिले नै इलेक्ट्रोनिक उपकरणहरूले हानि पु¥याउन सक्छ भनेर मान्दै जानु राम्रो हो।
सुरुको वर्ष संसार जान्न र बुझ्नको लागि
जर्मनीमा, बालबालिकाको लागि ‘तीन वर्षसम्म स्क्रिनबाट दुरी जरुरी छ’ भन्ने नारा नै तय गरिएको छ। बालबालिकाको लागि मिडिया गाइडलाइन बनाउने बाल रोग विशेषज्ञ उल्रिक ग्यासर भन्छिन्, ‘यो उमेरका बालबालिकालाई स्क्रिनको आवश्यकता पर्दैन।’
यद्यपि, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यसमा अलि नरम धारणा राखेको छ। डब्ल्यूएचओका अनुसार, दुई वर्षभन्दा माथिका बालबालिकाको लागि स्क्रिन समय एक घण्टाभन्दा बढी हुनु हुँदैन, तर जति कम त्यति राम्रो हुन्छ।
सुरुको एक देखि दुई वर्षमा, बच्चाहरूले आफ्नो वरपरका चीजहरू हेर्नु, छुनु र बुझ्नु महत्वपूर्ण हुन्छ किनभने यस समयमा उनीहरूको ध्यान केन्द्रित गर्ने क्षमता विकास हुन्छ। तर यो तब मात्र सम्भव हुन सक्छ जब उनीहरूले स्क्रिन जस्तो चीजको अगाडि बसेर नभई, आफैंमा ध्यान केन्द्रित गर्न सिक्छन्।
बच्चाहरूलाई उनीहरूको आवश्यकता तुरुन्तै पूरा गर्न सकिँदैन भनेर सिकाउनु महत्वपूर्ण छ। जस्तै भोकाएर बच्चा रुने बित्तिकै आमाबाबुले खाना दिइहाल्न सक्दैनन्, समय लाग्छ। बच्चाहरूले यो बुझ्नु महत्वपूर्ण छ कि
‘बटन वा स्वाइप थिचेर संसार परिवर्तन र गायब गराउन सकिँदैन। पर्खनु र स्वीकार गर्नु जीवनको आधारभूत पाठहरू मध्ये एक हो भनेर बालबालिकाले बुझ्न जरुरी छ’, ग्यासर भन्छिन्।
स्क्रिनले बच्चाहरूको विकासको समय खोस्छ
‘बालबालिकाहरू संसारलाई धेरै फरक तरिकाले देख्छन्’, जेना विश्वविद्यालयकी बाल मनोवैज्ञानिक युलिया असब्रान्ड भन्छिन्, ‘साना बच्चाहरूले जे देख्छन् त्यो सत्य हो भनेर विश्वास गर्न सक्छन् र तिनीहरू डराउन सक्छन्।त्यसकारण तिमीले भर्खरै के देख्यौ, यसबारे केही सोध्नुछ ? भनेर आमाबाबुले आफ्ना बच्चाहरूलाई सोध्नु महत्वपूर्ण रहेको छ।’
विज्ञ हरू स्क्रिनमा बिताएको समयले बालबालिकाको वास्तविक विकासको समय खोस्ने चिन्ता गर्छन्। अर्थात्, उनीहरूले आफ्नो शारीरिक क्षमता विकास गर्नुपर्ने, मानिसहरूलाई भेट्ने र सामाजिक अनुभवहरू गर्नुपर्ने समय स्क्रिनले खोस्छ।
हाल भएको एक अनुसन्धानले स्क्रिनको अगाडि बिताएको प्रत्येक मिनेटमा, बालबालिकाहरूले आफ्ना आमाबाबुको तुलनामा औसत छ शब्द कम सुन्ने र यसले पछि गएर ठूलो हानी गर्ने उल्लेख गरेको थियो।
बच्चाले स्क्रिनको अगाडि जति धेरै समय एक्लै बिताउँछ, पछि उनीहरूको भाषा कौसल त्यति नै बिग्रन सक्छ। स्क्रिन समय घटाउँदा, बालबालिकाको भाषा, ध्यान, सामाजिक व्यवहार र हात र खुट्टाको राम्रो चालमा सुधार देख्न सकिन्छ।
किन्डर गार्डेन : अन्तरक्रिया र कल्पनाको संसार
बालबालिकाहरू स्कूल नगएसम्म, उनीहरूको लागि आफ्नो वर परको संसार हेर्नु, चीजहरू महसुस गर्नु, ठाउँ बुझ्नु र अरूसँग सामाजिकीकरण बढाउनु धेरै महत्वपूर्ण हुन्छ।
ग्यासर भन्छिन्, ‘बालबालिकाहरूले यस्ता अनुभव हरेक दिन केही घण्टाका लागि लिनुपर्छ। जसमा बालबालिकाहरूले अरूको फरक विचार हुन सक्छ र यस्तो अवस्थामा उनीहरूले वार्ता, जिद्दी वा सम्झौताको सहारा लिनु पर्ने हुनसक्छ र कहिलेकाहीँ कुनै पनि तरिकाले काम गर्दैन भनेर सिक्ने अवसर पाउँछन्।’
बालबालिकाको कल्पनाशक्ति विकास गर्न यो समय आवश्यक छ। ताकि बच्चाले संसार बुझ्न सिकोस् ताकि उसले आफ्नै कल्पनाशक्तिले संसार सिर्जना गर्न सकोस्।
यस अवस्थामा, यदि उनीहरूलाई स्क्रिनमा बनाइएका चीजहरू बारम्बार देखाइयो भने, उनीहरूको कल्पनाशक्ति बिस्तारै कमजोर हुन सक्छ। त्यसैले, सुरुका उमेरमा स्क्रिन समयलाई अधिकतम ३० मिनेटमा सीमित गर्नु जरुरी रहेको ग्यासर बताउँछिन्।
प्राथमिक विद्यालयमा मूल्य मान्यताको सिकाई
छ र नौ वर्षको उमेरका बीचमा, बच्चाहरूले पहिले आफैं भित्र नैतिक दिशा निर्देशहरू विकास गर्न थाल्छन्। ‘के हामी यो जिम्मेवारी इन्टरनेटमा छोड्न चाहन्छौं?’ उनको प्रश्न छ। यो त्यो उमेर हो जब बच्चाहरूले अनुशासन, कडा परिश्रम, ज्ञान प्राप्त गर्ने र इन्टरनेटमा पाइने जानकारीमा मात्र भर नपरेर आफैंमा विश्वास गर्न सिक्छन्।
जर्मनीमा, यो उमेरको लागि बच्चाहरूले अधिकतम ३० देखि ४५ मिनेट मात्र स्क्रिन समय अभिभावकको निरीक्षणमा बिताउन सक्छन् भनेर सुझाव दिइन्छ।
यद्यपि, कम स्क्रिन समय सधैं राम्रो हुन्छ, तर आजकल धेरैजसो कुराकानी डिजिटल प्लेटफर्महरूमा हुन्छ।
किशोर किशोरीको निरीक्षण गर्न गाह्रो
विशेषज्ञहरू अब बच्चाहरूलाई स्मार्ट फोनबाट टाढा राख्न सम्भव नरहेको बताउँछन्। त्यसैले अब वास्तविक प्रश्न ‘मिडियाको राम्रो प्रयोगको परिभाषा के हुन सक्छ?’ भन्ने हो।
जर्मनीमा, डाक्टरहरू ९ देखि १२ वर्ष उमेरका बच्चाहरूको लागि खाली समयमा अधिकतम ४५ देखि ६० मिनेट, १२ देखि १६ वर्ष उमेरका बच्चाहरूको लागि अधिकतम १ देखि २ घण्टा र १६ देखि १८ वर्षका बच्चाहरूको लागि लगभग २ घण्टा स्क्रिन समय हुनसक्ने सल्लाह दिन्छन् ।
यस उमेरमा, बालबालिकाहरूले आफ्नो पहिचान सिर्जना गर्ने प्रयास गर्छन्, त्यसैले आमाबाबुले आफ्ना बच्चाहरूलाई खुलेर प्रश्नहरू सोध्नु पर्छ र उनीहरूलाई अनलाइन के हेरिरहेका छन् भनेर देखाउने मौका दिनुपर्छ।
‘सबैभन्दा ठूलो समस्या भनेको जब बच्चाहरूले केही डरलाग्दो काम गर्छन्, जसले उनीहरूलाई ग्रुमिङ जस्ता खतरनाक परिस्थितिहरूमा पार्न सक्छ’ एस्ब्रान्ड भन्छन्। (ग्रुमिङ अर्थात् वयस्कले खराब नियतले बच्चाको विश्वास जित्ने प्रयास गर्छन्) कहिलेकाहीँ बच्चाहरूमा डरका कारण यस्ता कुरा आफ्ना आमाबाबुसँग साझा गर्ने साहस हुँदैन ।’
प्रविधि आफैंमा नराम्रो कुरा होइन
ग्यासर भन्छिन्, ‘हामीलाई पनि थाहा छ की, जति उपाय हामी सुझाउँछन्, ति सबै कार्यान्वयन गर्न गाह्रो छ। त्यसकारण, समय भन्दा बढी महत्वपूर्ण कुरा केटाकेटीहरूले के हेरिरहेका छन् र तिनीहरूले यसलाई कसरी व्यवहार गरिरहेका छन् भन्ने हो।’
लागूऔषध सम्बन्धी अनुसन्धानको दृष्टिकोणबाट एस्ब्रान्ड भन्छिन्, ‘स्क्रिनको प्रयोग लत नबनोस् भनेर ध्यान दिन जरुरी छ, हरेक बच्चा, माध्यम र हरेक प्रकारको सामग्री फरक हुन्छ र प्रत्येक प्रकारको परिस्थितिका लागि कुनै ठोस वैज्ञानिक प्रमाण हुँदैन।’
इन्टरनेटमा धेरै अद्भुत चीजहरू रहेको भन्दै ग्यासर स्कूलमा ट्याब्लेट र अन्य उपकरणहरूले बच्चाहरूलाई भाषा सिक्न, साथी बनाउन र उनीहरूको आवाज विकास गर्न मद्दत गर्ने समेत बताउँछिन्।
सामाजिक सञ्जाल व्यक्तिगत जीवनमा पनि लाभदायीक हुन सक्छ। यसले हजुरबा हजुरआमा वा काममा टाढा रहेका आमाबाबुसँग सम्पर्क कायम राख्न मद्दत गर्दछ। कहिलेकाहीँ यसले धेरै राम्रो नयाँ सम्पर्क हरू पनि बनाउन सक्छ।
आमाबाबुले के गर्ने ?
आमाबाबुले आफ्ना बच्चाहरूलाई सकेसम्म स्क्रिनको अगाडि एक्लै छोड्नु हुँदैन। बच्चाहरूसँग मिडियाको प्रयोगको बारेमा कुरा गर्नुपर्छ र उनीहरूले के हेरिरहेका छन् भनेर हेर्नुपर्छ।
‘राम्रो आमाबाबु–बालबालिकाको सम्बन्धमा स्वतन्त्रता र विश्वास दुवै आवश्यक छ। साथै, आमाबाबुले डिजिटल मिडिया कति लत लाग्न सक्छ भन्ने बारे सचेत हुनुपर्छ', उनले भनिन्, ‘यदि बच्चाले आफूलाई अलग राख्छ, अन्य गतिविधिहरू छोड्छ वा सधैं दुःखी र समस्याग्रस्त देखिन्छ भने, आमाबाबु सतर्क हुनुपर्छ।’