वीरगञ्ज । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपलगायतको सञ्चालक संस्था मेटाले नेपालमा दर्ता तथा सूचीकरण प्रक्रियाका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्पर्क गरेको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरस्थित कार्यालयमा कार्यरत एक कर्मचारीले मन्त्री पृथ्वीशुब्बा गुरुङका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेका हुन् ।
प्रवक्ता ठाकुरले भने, “मेटाको सिंगापुरमा कार्यरत कर्मचारीले मन्त्रीज्यूको स्वकीय सचिवलाई सम्पर्क गरी दर्ता र सूचीकरणका लागि आवश्यक कागजातबारे जानकारी माग्नुभएको थियो । हामीले तत्काल इमेलमार्फत आवश्यक विवरण पठाइसकेका छौँ ।” मन्त्रालयले सोमबार साँझ ५ बजे उक्त इमेल पठाएको उनले बताए ।
नेपाल सरकारले हालै सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई क्रमशः प्रतिबन्ध लगाउने निर्णय गरेको छ । निर्णयसँगै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई २६ वटा सामाजिक सञ्जालहरू सञ्चालनमा रोक लगाउन पत्राचार गरिसकेको छ । निर्णयले सामाजिक सञ्जालमा ठूलो तरङ्ग ल्याएको छ ।
मेटाको कदमलाई नेपालमा फेसबुकको सञ्चालनलाई निरन्तरता दिने प्रयासका रूपमा हेरिएको छ । मन्त्रालयले आवश्यक कागजात र प्रक्रियाबारे जानकारी उपलब्ध गराएसँगै मेटाले दर्ता प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।