वीरगञ्ज । सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ (पूर्व ट्विटर) ले नेपाल सरकारलाई पत्र लेख्दै मुलुकमा व्याप्त भ्रष्टाचार र अपारदर्शिताको कारण देखाउँदै दर्ता नगर्ने स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सम्बोधन गरेको उक्त पत्रमा ‘एक्स’ले नेपालमा आफ्नो सञ्चालन दर्ता नगर्ने अडान राखेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा मुख्य सचिव एकनारायण अर्याललाई उक्त पत्र पढेर सुनाउन निर्देशन दिएका थिए । पत्रमा उल्लेखित ‘भ्रष्ट र अपारदर्शी मुलुक’ भन्ने आशयप्रति प्रधानमन्त्री ओलीले तीव्र असन्तुष्टि व्यक्त गरे ।
“हामीले तपाईँहरूलाई दर्ता गरेर व्यवसाय गर्न र नाफा कमाउन आह्वान गरेका हौँ, तर एउटा सार्वभौम मुलुकलाई यस्तो भन्ने?” एक मन्त्रीले उद्धृत गर्दै ओलीको भनाइ सुनाए, “यो अरूलाई त सह्य होला, तर मलाई स्वीकार्य छैन ।”
मन्त्रिपरिषद् बैठकले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने कुनै निर्णय नगरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका थिए ।
देउवाले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकाउन दबाब दिएपछि सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले इन्टरनेट सेवा प्रदायकहरूलाई प्रतिबन्ध खोल्ने निर्देशनसहित पत्राचार गरेका छन् ।
यसअघि, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, एक्स, युट्युबलगायतका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा दर्ता हुन आह्वान गरेको थियो । तर, प्लेटफर्महरूले दर्ता गर्न अटेर गरेपछि गत बिहीबार (१९ गते) देखि नेपालमा ती प्लेटफर्ममाथि प्रतिबन्ध लगाइएको थियो।‘एक्स’को यो पत्र र सरकारको प्रतिबन्ध कायम राख्ने निर्णयले सामाजिक सञ्जालको प्रयोग र नियमनलाई लिएर नेपालमा नयाँ बहस सिर्जना भएको छ ।
एकातिर सरकारले नियमनको प्रयास गरिरहँदा अर्कोतिर अन्तर्राष्ट्रिय प्लेटफर्महरूले नेपालको प्रशासनिक र नीतिगत वातावरणप्रति प्रश्न उठाएका छन् ।