×

सांकेतिक तस्बिर ।

चितवन । चितवनबाट एक १६ वर्षीय बालकलाई अपहरण गरी काठमाडौं ल्याइएको घटनामा संलग्न गिरोहका सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका बालकलाई भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सकुशल उद्धार गरेको जनाएको छ।

प्रहरीका अनुसार सोमबार साँझ चितवनको नारायणगढ क्षेत्रबाट ५–६ जनाको समूहले १६ वर्षीय रिसब गुप्तालाई अपहरण गरी भारतीय नम्बर प्लेटको सवारी साधनमार्फत जबरजस्ती काठमाडौं ल्याएको थियो।

अपहरणकारीहरूले बालकलाई काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्क क्षेत्रको एक होटलमा राखी परिवारसँग २२ लाख रुपैयाँ फिरौती मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोजतलास तीव्र बनाएको थियो। डीएसपी अनिल घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोङ्गबुस्थित होटलबाट अपहरणकारीहरूलाई नियन्त्रणमा लिँदै बालकको सकुशल उद्धार गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये पाँच जना भारतीय नागरिक रहेका छन्। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरत थापा क्षेत्रीले जानकारी दिएका छन्।

पक्राउ परेकाहरूको प्रारम्भिक पहिचान सार्वजनिक गर्दै प्रहरीले उनीहरू भारतको बिहार राज्यको बेतिया क्षेत्रका युवक रहेको जनाएको छ। पक्राउ पर्नेमा सुजित कुमार, गोलु कुमार, बिक्की कुमार र मोहम्मद साहिद रहेका छन्। अन्य एक जनाको पहिचान तथा संलग्नताबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अपहरणको उद्देश्यबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Back to top