×

पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राख्नुभएको छ । सर्वोच्च अदालतकोे पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रच्नुभएकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको पहिलो कार्यकारी प्रमुख बन्न सफल हुनुभएको हो ।

जेन–जी समूहको आन्दोलनको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाङ्क्षाबमोजिम राजनीतिक दल र सरोकारवालासँगको परामर्शमा उहाँलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुभएको हो । 

प्रधानमन्त्री कार्कीको जन्म २००९ साल जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो । उहाँले महेन्द्र मोरङ कलेज विराटनगरबाट २०२८ सालमा बिए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गर्नुभएको छ । २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरी अधिवक्ताका रूपमा उहाँले २०३५ साल चैत १६ गतेदेखि कानुन व्यवसाय शुरू गर्नुभएको थियो। उहाँले २०४२ सालदेखि तीन वर्ष महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गर्नुभयो । 

२०४५ सालदेखि २०४७ सालसम्म उहाँले कोशी अञ्चल बारको अध्यक्ष तथा २०५९ सालदेखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बन्नुभयो । २०६१ साल पुस ५ गते उहाँले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नुभएको थियो । त्यस्तै, २०६५ साल माघ ९ गते उहाँ सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त हुनुभयो । २०६७ साल मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बन्नुभयो ।

संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जिनिया र नेदरल्याण्डलगायत देशको भ्रमण गरिसक्नुभएकी उहाँ नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा निपुण हुनुहुन्छ । निडर स्वभाव र सरल जीवनशैली उहाँको पहिचान हो । उहाँले प्रधानन्यायाधीशका रूपमा १४ महिना जिम्मेवारी सम्हाल्नुभएको थियो ।

Back to top