गएको एक सातामा देशमा के-के भयो, हामी सबैले देखेका छौँ । २२ भदौमा ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन सक्दै गर्दा हामीले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा एमालेको निर्विकल्प नेता घोषणा गर्यौँ । नेपालको मात्रै नभएर एसियाकै नेता भएको दाबी गर्यौँ । तर हाम्रा ती घोषणा र आत्मरति दुई दिन पनि टिकेनन् ।
मङ्गलवार तत्कालीन प्रधानमन्त्रीले ज्यान जोगाउनका लागि सेनाको सहारा लिनुपर्यो । यो लेख तयार पार्दासम्म उहाँ सार्वजनिक रूपमा देखिनुभएको छैन ।
जेन-जी सहरी विद्रोहले के देखाउँछ भने हाम्रो नेतृत्वले देशभित्र परिवर्तित अवस्थाबारे भेउसम्म पाउन सकेको रहेनछ । विद्रोहपछि पनि नेतृत्वले जे जस्तो तर्क गरेको छ त्यसले अहिले जनभावना बुझ्न सकेको देखिँदैन । विद्रोहलाई ‘षड्यन्त्र’ मान्दै असफलता ढाकछोप गर्ने अस्त्र बनाउन व्यस्त छ । प्रमाणबेगर विद्रोहलाई षड्यन्त्र ठान्नु कार्यकर्तालाई यो ‘ब्रेनवास’ गर्न प्रयास मात्रै हो ।
पार्टीमाथि चौतर्फी घेराबन्दी छ भनिथ्यो । तर घेराबन्दी कसबाट हो भने विषयमा कहिले पनि छलफल गरिएन । न मूर्तरूपमा नै भनियो । राजनीतिमा षड्यन्त्र नहुने होइन तर जे जस्तो घटनाहरू भए त्यसमा षड्यन्त्र मात्रै देख्नु विडम्बना हो । किनभने परिवर्तनको प्रमुख कारण आन्तरिक हुन्छ, बाह्य गौण । के सोमबारको विस्फोट एकै दिनको परिणाम मात्र थियो त? पक्कै थिएन ।
आम नेपालीले संविधान जारी भएपछि जीवनमा परिवर्तन हुने आशा गरेका थिए। त्यसमा दुई वटा विषय प्रमुख थियो- देश भ्रष्टाचारमुक्त होस् र देशभित्रै रोजगारी पाइयोस्। नेताहरूले पनि त्यसमा प्रतिबद्धता जनाएका थिए । नेताहरूले ‘हामी नयाँ व्यवस्थामा प्रवेश गर्दै छौँ, तपाईँहरूको चाहना पूरा गर्छौँ’ भनेकैले २०६२/६३ मा जनतालाई सडकमा ल्यायो । जनतामा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादीलाई लामो समयसम्म जोडी पनि राख्यो । तर आम मानिसले के पाए ?
संविधान जारी भएको एक दशक हुन लाग्दा समेत ती प्रतिबद्धता पूरा हुन सकेनन् । प्रधानमन्त्रीको कुर्सी फगत ‘म्युजिकल चेयर’मा परिणत भयो । यो खेलमा केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालले अरूलाई छेउ पर्न पनि दिएनन् । सत्ता सधैँ कमाउने भाँडो भयो । आफू र आसेपासेलाई पोस्ने काम भयो । सत्ताको केन्द्रमा एमाले सधैँ रह्यो । पछिल्लो १० वर्षमा ६० प्रतिशत समय हाम्रै अध्यक्ष ओलीकै हातमा देशको नेतृत्व थियो ।
भुईँचालो र नाकाबन्दीको थिलथिलोबाट उठिसकेपछि अब त नेताहरूको चेत खुल्छ, विवेक फिर्छ र जनचाहना अनुरूप आफूलाई ढाल्छन् भन्ने ठानिएको थियो । तर एक दशकमा सुधारको लक्षण केही पनि देखिएन । नेतृत्व झनै निरङ्कुश, स्वेच्छाचारी, अपारदर्शी र मैमत्त बन्दै गयो ।
आलोचक देख्दै नसक्ने, सुझाव सुन्दै नसुन्ने र परिस्थितिको आकलन गर्न नसक्ने भयो । कमजोरी उठाउँदा कुतर्कले टार्न खोजियो । आरोपहरूमाथि निष्पक्ष छानबिन टाढाको कुरा भयो । न गिरीबन्धु, न भुटानी शरणार्थी प्रकरण, न ७० करोडको सेक्युरिटी प्रेस काण्ड, न कोभिड सामान खरिद काण्डबारे नै जवाफ दिन सक्यौँ । आरोपहरूमाथि खालि कपोलकल्पित हो भनेर टार्न खोजियो ।
परिणाम, आम मानिसमा पार्टीप्रतिको धारणा नकारात्मक बन्न पुग्यो । कार्यकर्ताहरूमा पनि नेताले जे सुन्न चाह्यो त्यही कुरा मात्रै सुनाउने प्रवृत्ति विकास भयो । नेतृत्वले सुन्न नचाहेको यथार्थ कुरा गरेर आन्तरिक मूल्याङ्कनमा ‘नम्बर घटाउने’ कसैले जोखिम मोल्न चाहेनन् । अहिले ‘झोले’ भन्दै गाली सुन्नुपर्ने अवस्था छ ।
एमालेको केन्द्रीय कमिटीमा म लगायत केहीले यी विभिन्न विषयमा पटक पटक कुरा उठाएका हौँ । तर पार्टीभित्र प्रश्न गर्नेहरूको हुर्मत लिने काम भयो । कहिले १० बुँदेको नाममा खारेज गरियो भने कहिले सधैँ आलोचना मात्र गर्छ भनेर टारियो । पार्टीभित्र समस्याबारे कुरा उठ्दै नउठेको भने होइन । प्रश्न गर्नेहरूको समूह सानो भएकाले त्यसको प्रभाव नदेखिएको हो ।
रातदिन मिहिनेत गर्दा पनि जीवन चलाउन धौधौ भएका जनताले कुनै इलम नभएका नेता तथा कार्यकर्ताको जीवनशैलीमा आएको परिवर्तन पनि मूल्याङ्कन पनि गरिरहेका थिए । उनीहरूले बढ्दो आर्थिक असमानताको खाडल पनि नियालिरहेका थिए । त्यसले नेता तथा कार्यकर्तालाई जनताबाट टाढा बनाउँदै लग्यो । एउटै पार्टीमा भाइचाराको सम्बन्धभन्दा पनि पार्टी संरचना मालिक, मजदुर जस्तो भयो ।
अवस्था कस्तो देखियो भने अहिले नेताको सुरक्षा गर्नुपर्छ भनेर कार्यकर्ताले समेत आवश्यक ठानेनन् । बरु खुच्चिङ भनिरहेका छन् ।
धुलो टकटक्याउँला तर कसरी मेट्ने कलङ्कको टीका?
आन्दोलन लगत्तै एमाले महासचिव शङ्कर पोखरेलले नेत्रलाल अभागीको कविता फेसबुकमा सेयर गर्दै धुलो टकटक्याउँदै उठ्ने कुरा लेख्नुभयो । तर, अहिले धुलो टकटक्याउँदै उठ्नेभन्दा पनि गम्भीर कुरा छ ।
हाम्रै पार्टी अध्यक्षले नेतृत्व गर्नुभएको सरकारबाट ठूलो सङ्ख्यामा हताहत भएको छ । त्यसमा हामीले के जवाफ दिने? के ‘विदेशी षड्यन्त्र’ मात्रै भनेर नकार्न मिल्छ? भौतिक क्षतिको मर्मत सम्भार त हुन सक्ला तर मानवीय क्षतिको पूरताल हुनसक्छ? शान्ति सुरक्षा दिन नसकेकोमा जनतालाई जवाफ दिनुपर्दैन?
आन्दोलनमा यति युवा मारिने गरी चुक कसरी भयो छानबिनले देखाउला तर सत्ताको बागडोर सम्हालिरहेकाहरूले त्यसको जिम्मेवारी लिनुपर्दैन? मैले आदेश दिएको थिइनँ भनेर त उम्किन मिल्दैन । किनभने हिजो आन्दोलनकारी मारिँदा हामीले तत्कालीन राजा ज्ञानेन्द्रलाई नै दोषी करार गरेका थियौँ ।
यी सबैको जवाफ खोज्न हामीले नयाँ ढङ्गले पार्टी पुनर्गठन गर्नुपर्छ । विगतको प्रवृत्तिले अब पार्टी चल्दैन । अब सुधारको नेतृत्व तेस्रो पुस्ता लिनुपर्छ र मुख्य नेतृत्वले त्यसका लागि बाटो खुला गर्नुपर्छ । नत्र ‘प्रिय छोराछोरी’ भनेर अखबारमा स्तम्भ नै चलाए पनि जेन-जीले पत्याउने छैनन्, जसरी अहिले पत्याएनन् ।
अब त हामीले जेन-जीमात्रै होइन, जेन-अल्फा पुस्ताको पनि सामना गर्नुपर्ने छ । त्यसैले भ्रष्टाचार, कुशासन र नरसंहारको आरोप लागेका व्यक्तिलाई नेतृत्व मानेर हिँड्न सकिँदैन ।
(लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।)