जर्ज वाशिङ्टन (१७३२ – १७९९) अमेरिकी इतिहासका महान नेता र प्रथम राष्ट्रपति थिए। उनलाई अमेरिकी स्वतन्त्रता संघर्षको प्रमुख सेनापति र 'राष्ट्रका पिता' को रूपमा स्मरण गरिन्छ। उनको जन्म सन् १७३२ फेब्रुअरी २२ मा भर्जिनियाको वेस्टमोर्ल्याण्ड काउन्टीमा भएको हो। उनका बुबा अगेष्टिन वाशिङ्टन किसान थिए र आमा म्यारी बल वाशिङ्टन मेहनती र धार्मिक स्वभावकी महिला थिइन्। उनी सात सन्तानमध्ये जेठा थिए।
वाशिङ्टनले औपचारिक शिक्षाबाट धेरै लाभ लिन सकेनन् तर आफ्नै प्रयासले गणित, सर्वेक्षण र सैन्य रणनीतिबारे अध्ययन गरे। १६ वर्षको उमेरदेखि उनले भूमि सर्वेक्षणको काम सुरु गरे र यसै अनुभवले उनलाई व्यवहारिक जीवनमा सक्षम बनायो। १७५४ मा सुरु भएको फ्रेन्च–इन्डियन युद्धमा उनले ब्रिटीश सेनाको तर्फबाट बहादुरीपूर्वक लडे र साहसी कमाण्डरको छवि बनाए।
अमेरिकी उपनिवेशहरूमा ब्रिटेनविरुद्ध असन्तोष बढ्दै जाँदा वाशिङ्टन स्वतन्त्रताको पक्षधर बने। १७७५ मा उनलाई 'कन्टिनेन्टल आर्मी' को प्रधान सेनापति बनाइयो। उनको दृढ नेतृत्व र रणनीतिले अमेरिकी सेनाले कठिन परिस्थितिमा पनि संघर्षलाई जारी राख्न सफल भयो। १७७६ जुलाई ४ मा स्वतन्त्रता घोषणा पत्र जारी भयो र अन्ततः १७८१ मा यर्कटाउनको युद्धमा अमेरिकी सेनाले निर्णायक विजय हासिल गर्यो।
युद्धपछि वाशिङ्टनले सन् १७८३ मा आफ्नो सैन्य जिम्मेवारी त्यागे र आफ्नै भर्जिनियास्थित माउन्ट भर्नोन फार्ममा फर्किए। तर राष्ट्र निर्माणका लागि उनी पुनः राजनीतिमा सक्रिय भए। सन् १७८७ मा फिलाडेल्फियामा भएको संविधानसभामा उनले अध्यक्षता गरे र नयाँ संविधानलाई कार्यान्वयन गर्न ठूलो भूमिका खेले।
१७८९ मा वाशिङ्टन सर्वसम्मतिले अमेरिकाका पहिलो राष्ट्रपति निर्वाचित भए। उनी दुई कार्यकालसम्म (१७८९–१७९७) पदमा रहे। उनले नयाँ गणतन्त्रलाई स्थायित्व दिन, संघीय सरकारलाई सबल बनाउन र राष्ट्रिय एकता कायम राख्न महत्वपूर्ण काम गरे। उनको नेतृत्वमा राजधानी वाशिङ्टन डी.सी. को निर्माण योजना सुरु गरियो। वाशिङ्टनले तटस्थ परराष्ट्र नीति अपनाए र दलगत राजनीतिबाट टाढा रहे।
१७९७ मा उनले स्वेच्छाले पद त्यागे, जुन लोकतान्त्रिक परम्पराको उत्कृष्ट उदाहरण मानिन्छ। १७९९ डिसेम्बर १४ मा भर्जिनियास्थित आफ्नो घरमा उनको निधन भयो। उनी आफ्नो जीवनकालमै सत्यनिष्ठा, देशप्रेम र बलिदानका प्रतीक बने।
आजसम्म पनि अमेरिकामा उनलाई उच्च सम्मानका साथ सम्झिन्छ। उनको नाम अमेरिकी इतिहासमा सदैव स्वतन्त्रता र नेतृत्वको प्रतिमूर्ति बनेर रहनेछ।