जेन–जि पुस्ताका युवा प्रीयान्सु चौरसियाले सांसद उम्मेदवारीका लागि तोकिएको उमेर सीमा घटाउन निर्वाचन आयोगसँग औपचारिक रूपमा माग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत अहिले कायम रहेको २५ वर्षको उमेर सीमा घटाएर १८ वर्ष पुरा भएकालाई पनि उम्मेदवार बन्न अनुमति दिनुपर्ने बताएका छन्।
चौरसियाले लेखेका छन्,
“निर्वाचन आयोगसँग मेरो अनुरोध छ -सांसद उम्मेदवारको उमेर २५ वर्षबाट घटाएर १८ वर्ष गरिदिनुपर्यो। हामी जेन–जिलाई चुनाव नै लड्न मिल्दैन भने हाम्रो सहभागिता कसरी होस्?”
उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा र बहसको विषय बनेको छ। धेरै युवाहरूले उनको समर्थन गर्दै राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने टिप्पणी गरेका छन्।
अर्को पोस्टमा चौरसियाले लेखेका छन्,
“नयाँ पुस्ताको सोच र दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने अवसर नदिँदा राजनीतिमा पुस्तान्तरण ढिलो हुँदै गएको छ। युवालाई निर्णय–निर्माण तहमा ल्याउन कानुनी सुधार आवश्यक छ।”
नेपालको संविधान अनुसार हाल प्रतिनिधि सभा सदस्य बन्नका लागि कम्तीमा २५ वर्ष र राष्ट्रपति बन्नका लागि ४५ वर्ष उमेर पुगेको हुनुपर्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, चौरसियाको यो प्रस्तावले नेपालमा राजनीतिक नेतृत्वमा उमेर सीमा र युवाको भूमिकाबारे नयाँ बहस पुनः सुरु गराएको छ। विश्लेषकहरू भन्छन् - “जेन–जि पुस्ताको यो मागले उनीहरूको राजनीतिक चेतना, सक्रियता र राज्य सञ्चालनमा प्रत्यक्ष सहभागिताको चाहना झल्काउँछ।”