मुम्बई । अभिनेत्री कटरीना कैफको गर्भावस्थाका क्रममा मुम्बईस्थित उनको फ्ल्याटको बार्दलीमा खिचिएका निजी तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएपछि बलिउडमा ठुलो बहस सुरु भएको छ।
यी तस्बिरहरू उनको अनुमतिबिना लिइएका थिए।आफ्नो निजी जीवनलाई लिएर सधैं सतर्क रहने कटरीनाको प्राइभेसी खुलेआम खतरामा परेपछि फ्यानका साथै उनका को-स्टारहरूले पनि आक्रोश व्यक्त गरेका छन्।
तस्बिरहरू सार्वजनिक हुनेबित्तिकै फ्यानहरूले यसलाई गोपनीयताको हनन र आपराधिक कार्य भन्दै मिडिया आउटलेट र फोटो खिच्नेहरूमाथि कडा कारबाहीको माग गरेका छन्।
अभिनेत्री सोनाक्षी सिन्हाले मिडियामाथि कडा टिप्पणी गर्दै भनेकी छिन्, ‘तिमीहरूलाई के भएको छ? कुनै महिलाको आफ्नै घरभित्र बिना अनुमति तस्बिर लिनु र सार्वजनिक गर्नु, तिमीहरू अपराधीभन्दा कम छैनौ, लाजमर्दो!’ सोनाक्षीको यो प्रतिक्रिया इन्टरनेटमा भाइरल भएको छ, जसले प्राइभेसीको बहसलाई थप चर्काएको छ।
हालै आलिया भट्टको पनि यस्तै निजी तस्बिरहरू भाइरल भएका थिए।