वीरगञ्ज । हुलाकी राजमार्गअन्तर्गत पर्ने बारा जिल्लाको सदरमुकाम कलैया बजारमा पर्ने मानमत–कलैया–मटिअर्वा सडकखण्डको साढे ३ किलोमिटर सडक १४ वर्षदेखि अधुरो छ । भारतको दशगजा नाका र पूर्व–पश्चिम राजमार्गलाई सिधै जोड्ने भएकाले व्यापारिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिने सडक निर्माण नहुँदा स्थानीय बासिन्दा र व्यवसायीले ठूलो सास्ती खेपिरहेका छन् ।
सडक निर्माण नहुँदा गर्मीमा धुलो, वर्षामा हिलो र खाल्डाखुल्डीमा जम्मा पानीले यातायात, व्यापार तथा स्वास्थ्यमा गम्भीर असर परेको छ । कलैयाबाट राजमार्ग पुग्न ३३ किलोमिटर घुमेर वीरगञ्ज–पथलैया हुँदै जानुपर्ने बाध्यता छ भने वर्षायाममा ठूला दुर्घटना हुने गरेका छन् ।
सडक बारा जिल्लाको प्रमुख राजनीतिक मुद्दा बनेको छ । डेढ दशकमा सरकार फेरिँदा मन्त्री, सांसद र संसदीय समितिले अनुगमन गरी पटक–पटक आश्वासन दिए पनि निर्माण अघि बढेको छैन । स्थानीयले विरोध प्रदर्शन गर्दा राजनीतिक दलका प्रतिनिधिले झुटा वाचा बाँडेका छन् । वर्तमान सरकारले पनि ध्यान नदिएको भन्दै नागरिक निराश छन् ।
राजनीतिक दलको उदासीनताविरुद्ध स्थानीय स्वतन्त्र युवाहरूले दबाब सिर्जना गर्न हस्ताक्षर अभियान थालेका छन् । सौरभ पाण्डे, सौरभ चौगाई, सुमित पटेल, बिक्की गुप्ता, सुरज साह, अमित तिवारी, सञ्जय चौधरीलगायतको अगुवाइमा गत असोज ३१ देखि सडकमै डेस्क राखेर हस्ताक्षर सङ्कलन भइरहेको छ । अभियानको नारा ‘हाम्रो सडक, हाम्रो अधिकार’ रहेको छ ।
अभियानका अगुवा सौरभ चौगाईका अनुसार हालसम्म करिब ५ हजार हस्ताक्षर सङ्कलन भइसकेको छ र पाँच हजारभन्दा बढी हस्ताक्षरसहित भौतिक पूर्वाधार मन्त्रालयमा बुझाउने तयारी छ । सदरमुकामको मुख्य चोक कुरूप बनेको तथा विश्व प्रसिद्ध महागढीमाई मन्दिर दर्शन गर्न आउने हजारौँ आन्तरिक तथा बाह्य पर्यटकले सडक प्रयोग गर्दा सहरको छवि बिग्रिएको उनले बताए । निर्वाचित जनप्रतिनिधिले ६ महिनाभित्र निर्माण गर्ने वाचा गरे पनि वर्षौँ बितिसक्दा सुनुवाइ नभएको उनको गुनासो छ ।
अर्का अगुवा सौरभ पाण्डेले राजनीतिक दल र निर्वाचित प्रतिनिधिलाई मुख्य दोषी ठहराए । हस्ताक्षरले दबाब नपुगेर चरणबद्ध आन्दोलनमा जाने र सहयोगको प्रतिबद्धता पाएको उनले बताए ।
कुल २७ किलोमिटर सडकमध्ये २४ किलोमिटर कालोपत्रे भइसकेको छ तर बाँकी साढे ३ किलोमिटर कलैया बजार क्षेत्रमा अलपत्र छ । विक्रम संवत् २०६८ मा भारतीय कम्पनी भिस्वा कन्स्ट्रक्सनले काम थाल्यो र २३ किलोमिटरपछि रोकिएको थियो । त्यस पश्चात् विक्रम संवत् २०७३ मा ठेक्का लिएको आशीष–डिएस जेभीले पनि काम अधुरै छोडेर गयो । विक्रम संवत् २०७८ पुस २७ मा सप्तकोशी जलाधार–ओम साई एन्ड कम्पनीले ठेक्का पाएदेखि हालसम्म १८ प्रतिशत काम मात्र सम्पन्न गरेको छ । ठेक्का रकम २२ करोड ३१ लाख रहेकोमा ४ करोड १५ लाख भुक्तानी भइसके पनि जिम्मा पाएको निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै काम रोक्ने गरेको छ ।
हुलाकी राजमार्ग निर्देशनालयले असोज ३१ मा ठेकेदारलाई १५ दिने स्पष्टीकरण माग्दै ठेक्का रद्द गर्ने चेतावनी दिए पनि म्याद सकिँदा समेत कारबाही भएको छैन । आयोजनाका सूचना अधिकारी धर्मेन्द्रकुमार दासले स्थानीय दबाबपछि काम सुरु भएको दाबी गरेका छन् । स्थानीयको आन्दोलनले सरकार र ठेकेदारमाथि दबाब बढाएको छ र अब कार्यान्वयनको पर्खाइ छ ।