×

वीरगञ्ज । भारतको राजधानी दिल्लीको एक व्यस्त क्षेत्रमा भएको कार विस्फोटलाई भारत सरकारले आतङ्कवादी घटना भएको पुष्टि गरेको छ । सोमबार ऐतिहासिक लाल किल्लानजिकै भएको उक्त विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्ले बुधवार साँझ बसेको सुरक्षा बैठकमा उक्त घटनाको निन्दा गर्दै यसलाई राष्ट्र विरोधी शक्तिहरूद्वारा गरिएको कायरतापूर्ण कार्य बताएको छ ।

भारतले हालसम्म उक्त विस्फोटसँग सम्बन्धित कसैको नाम सार्वजनिक गरेको छैन । कुनै गिरफ्तारी पनि गरिएको छैन ।

बुधवार पारित प्रस्तावमा मन्त्रिपरिषद्ले देश ‘राष्ट्र विरोधी शक्तिहरूद्वारा गरिएको कार विस्फोटमार्फत एउटा जघन्य आतङ्कवादी घटनाको साक्षी बनेको’ बताएको छ ।

मन्त्रिपरिषद्ले भनेको छ, “घटनाको अनुसन्धानलाई अधिकतम तत्परता र व्यावसायिकताका साथ अगाडि बढाइयोस् । अपराधीहरू, उनीहरूका सहयोगीहरू र प्रायोजकहरूलाई पहिचान गरी तत्काल न्यायको कठघरामा ल्याउन सकियोस् ।”

मन्त्रिपरिषद्ले निर्दोष नागरिकहरूको ज्यान जाने डरलाग्दो र कायरतापूर्ण कार्यको निन्दा गरेको छ ।

विस्फोट लाल किल्लानजिकको एक मेट्रो स्टेसन वरिपरि भएको थियो, जुन दिल्लीका सबैभन्दा संवेदनशील क्षेत्रहरूमध्ये एक हो ।

दिल्लीका प्रहरी आयुक्त सतीश गोलचाले घटना स्थानीय समयअनुसार साँझ ६:५२ बजे भएको बताए । बिस्तारै गुडिरहेको गाडी रातो बत्तीमा रोकिएपछि विस्फोट भएको थियो । उक्त विस्फोटले नजिकैका अन्य सवारी साधनहरूलाई समेत क्षति पुर्‍याएको थियो ।

एक प्रहरी प्रवक्ताले बिबिसीलाई बताएअनुसार, विस्फोट एउटा गुडिरहेको हुन्डाई आई–२० कारबाट भएको हो, जसमा घटनाको समयमा तीन जना व्यक्तिहरू सवार थिए ।

Back to top