×

वीरगञ्ज । भारतसँग सीमा जोडिएको पर्साको छिपहरमाईस्थित भिस्वा-सिकटा नाका तस्करीका गतिविधिका लागि व्यवस्थित रूपमा खुला गरिएको गम्भीर आरोप बाहिर आएको छ । वीरगञ्जपछिको दोस्रो ठूलो र सुरक्षित मानिने भिस्वा-सिकटा नाका पछिल्ला केही महिनामा तस्करहरूको चलखेल बढेको भन्दै स्थानीय स्रोतहरूले चिन्ता व्यक्त गरेका छन् ।

स्रोतका अनुसार, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साअन्तर्गत प्रस्तावित गुल्म भिस्वाका प्रमुख नायब उपरीक्षक लोक राज उप्रेतीले हेडक्वार्टरका गणपति प्रहरी उपरीक्षक पूरणचन्द्र भट्ट तथा सशस्त्र प्रहरी नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपतिलाई अवगत गराई कुख्यात मानिँदै आएका तस्कर किशोर जयसवाल, मुन्ना जयसवाल र रामु जयसवाललाई तस्करी गतिविधि सञ्चालन गर्न “लाइन” मिलाइदिएका हुन् ।

वीरगञ्जदेखि पश्चिमतर्फ अवस्थित भिस्वा-सिकटा नाका मुख्यतः जयसवाल ब्रदर्स तथा वीरगञ्जका चर्चित कोस्मेटिक व्यवसायी समूहका लागि खुलाइने गरिएको स्थानीयहरू बताउँछन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को मिलेमतोमा नाका खुलाइने र दैनिक २०–२५ ट्र्याक्टर बराबरका वस्तुहरू अवैध रूपमा आवतजावत हुने गरेको दाबी रहेको छ ।

तस्करी गरिने मुख्य सामग्रीमध्ये चिनियाँ स्याउ, लसुन, नास्पाती, ओखर, मगज, चाइनिज भेप (इलेक्ट्रिक चुरोट) तथा नेपालमा उत्पादन हुने स्याम्पु, पेस्ट, तेलसहितका कस्मेटिक वस्तुहरू रहेको उल्लेख छ ।

सामग्रीमध्ये धेरैजसो तेस्रो मुलुकबाट आयात गरिएका सामानहरू रामगढवास्थित जयसवाल समूहको गोदाममा भण्डारण गरिने र त्यसपछि पिकअप, ट्र्याक्टर तथा मिनी–ट्रकमार्फत भिस्वातर्फ पुर्‍याइने गरिएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । यिनलाई अवसर हेरेर कहिले पिकअप भ्यान र कहिले भरियामार्फत भारततर्फ लगिने दाबी गरिएको छ ।

छोटो बजार मानिने भिस्वामा रहेको आरएस कृष्णा स्टोर्समार्फत करोडौँको बिलिङ गरी तस्करीलाई वैध व्यापारजस्तो देखाउने प्रयास भइरहेको स्रोतको आरोप छ । यसले मुलुकको राजस्वमा ठूलो मात्रामा चुहावट भएको भन्दै व्यवसायी समुदायले चिन्ता प्रकट गरेका छन् ।

स्रोतका अनुसार शुक्रवार राति मात्र ११ वटा पिकअप भ्यानमा जयसवाल समूहको सामान भारततर्फ पठाइएको थियो । सीमामा खटिएका सुरक्षा निकायकै आडमा यस्तो गतिविधि बढ्दो रहेको भन्दै स्थानीय व्यापारी तथा नागरिकले आक्रोश व्यक्त गरेका छन् ।

राजस्व संरक्षण र तस्करी नियन्त्रणको जिम्मेवारी पाएका सुरक्षा निकायकै मिलेमतोमा गतिविधि बढेको आरोपले इमानदार व्यवसायीहरू आश्चर्यचकित भएको उनीहरूको भनाइ छ । “सरकार परिवर्तन भए पनि सीमा नियन्त्रणको स्थिति उस्तै रहनु समस्याको गहिरो संकेत हो,” एक स्थानीय व्यवसायीले नाम नखुलाउने सर्तमा भने । उक्त आरोपबारे सशस्त्र प्रहरी पक्षको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन ।

Back to top