×

बारा–सिमरामा जेन–जी युवाहरू र एमाले समर्थक कार्यकर्ताबीच भएको झडप उग्ररूप लिँदै गएपछि देशका विभिन्न जिल्लाहरूमा पुनः जेन–जी युवाहरू सडकमा उत्रिन थालेका छन्। सिमरामा सुरु भएको विवादले अन्य ठाउँमा पनि तनाव फैलिने खतरा बढेसँगै शान्ति–सुरक्षा सुनिश्चित गर्न सरकार विशेष सतर्क बन्नु आवश्यक देखिन्छ।

जेन–जी आन्दोलनकै जगमा बनेको वर्तमान सरकारले आन्दोलनका भावना र मागलाई सम्बोधन गर्नुपर्नेमा कमजोरी देखाएको आरोप उठिरहेको छ। चुनावमा बढी जोड दिँदै हिजोका दोषी तथा भ्रष्टाचारमाथि कडाइ नगर्नुले जेन–जी नेतृत्व मात्र होइन, आम नागरिकको विश्वास पनि कमजोर बन्दै गएको छ। यही कारण सर्वसाधारणबीच “जुन जोगी आए पनि कानै चिरेका” भन्ने निराशा व्यापक भइरहेको छ।

यता, प्रहरी प्रशासनको मनोबल कमजोर हुनु, राजनीतिक तनाव बढ्दै जानु र सडकमा झडप दोहोरिनुले देश फेरि द्वन्द्वतर्फ होमिन सक्ने भय नागरिकहरूमा बढेको छ। देशले अब थप हिंसा, दङ्गा र पीडादायी घटना सहन सक्दैन। कुनै आमाको काख उजाडिने, कुनै परिवार शोकमग्न बन्ने अवस्था नआओस् भन्न सरकार अत्यन्तै संवेदनशील र जिम्मेवार बन्नु अपरिहार्य छ।

सिमरा घटनाको निष्पक्ष अनुसन्धान गर्दै दोषीप्रति कडाभन्दा कडा कारबाही गर्नु सरकारले प्राथमिकताका रूपमा लिनुपर्छ। घाइतेको उपचार र न्याय सुनिश्चित गर्नु राज्यको दायित्व हो। साथै राजनीतिक दलका नेताहरू, विशेषगरी एमालेका केही नेताहरूले अभिव्यक्ति तथा व्यवहारमा संयम र मर्यादा अपनाउन आवश्यक छ। जनतामाथि केन्द्रित सिद्धान्त, नीति र कार्यक्रममार्फत जनविश्वास जित्न दलहरूले हिजोका कमजोरीकाे आत्मालोचना गर्दै जनतासँग माफी माग्न र रूपान्तरण गर्नुपर्ने समय यही हो।

जेन–जी युवाहरूको भूमिका पनि यति नै महत्वपूर्ण छ। लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्दै कुनै दललाई निषेध गर्ने, धम्की दिने, बन्देज लगाउने, आगजनी र बल प्रयोगजस्ता गैर–लोकतान्त्रिक गतिविधि त्यागिनुपर्छ। आन्दोलन संयम, मर्यादा, संवाद र सहमतिका आधारमा अघि बढ्दा मात्र दीर्घकालीन समाधान सम्भव हुन्छ। निरन्तर सडक प्रदर्शन, अराजकता वा आगजनीका घटनाले विकास अवरुद्ध हुने, अर्थतन्त्र कमजोर बनाउने, बालबालिकाको शिक्षा तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने र सामाजिक सद्भाव खल्बल्याउने जोखिम उच्च हुन्छ।

देश आज संवेदनशील मोडमा छ। आन्दोलन र राजनीतिक परिवर्तनको नेतृत्व गरेका जेन–जी युवाहरू र शासनमा बसेका नेताहरू दुवैले जिम्मेवारीपूर्वक आ–आफ्नो भूमिका निर्वाह गरे मात्र देश स्थिरता र समृद्धिको बाटोतर्फ अघि बढ्न सक्षम हुनेछ।

Back to top