वीरगञ्ज । पर्सा पकहाँमैनपुर गाउँपालिकामा बाल संरक्षण तथा बाल अधिकार कार्यक्रमअन्तर्गत केस व्यवस्थापन तालिम सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमा आयोजित उक्त तालिमको प्रमुख आतिथ्य गाउँपालिका अध्यक्ष सुरेश मेहताले गरेका थिए ।
तालिममा बाल संरक्षण तथा बाल अधिकारका विविध पक्षमा सहभागीहरूलाई विस्तृत रूपमा जानकारी प्रदान गरिएको थियो । प्रशिक्षकले बाल अधिकार, बाल संरक्षण, बाल कल्याण, बाल सुधार गृह तथा हेल्प लाइन सेवासम्बन्धी विषयमा व्यावहारिक बुझाइ गराएका थिए ।
यससँगै बाल घटना व्यवस्थापनका चरणहरू, सूचना दर्ता तथा सङ्कलन प्रक्रियामा ध्यान दिनुपर्ने बुँदाहरू, उद्धारका क्रममा अपनाउनुपर्ने सावधानीहरूसहितका महत्त्वपूर्ण विषयहरूमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रम पकहाँमैनपुर गाउँपालिकाकी उपाध्यक्ष सरफुन नेसाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवनाथ प्रसाद साह, बाल कल्याण अधिकारी सुधांशु शेखर प्रसाद, स्थानीय जनप्रतिनिधि, महिला समूहका प्रतिनिधि, सरोकारवाला, प्रहरी चौकी खेस्राहा तथा धोरेका प्रहरी सहायक निरीक्षक, र प्रशिक्षक कृष्णा यादवलगायतको सक्रिय सहभागिता थियो ।
सहभागीहरूले तालिमले स्थानीय तहमा बाल संरक्षण प्रणालीलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।