×

मुम्बई । बलिउडमा रुचाइएको जोडी हो करिना कपुर खान र सैफ अली खान । दुई मध्य करिना सामाजिक सञ्जालमा पनि सक्रिय रहँदै आएकी छन् । उनले मङ्गलवार (आज) पति सैफका लागि एउटा खास तर निकै रमाइलो सन्देश (लेटर) लेखेकी छिन्, जसले धेरैलाई आश्चर्यचकित बनाएको छ ।

प्रायः रोमान्टिक पोस्टहरू गरिरहने करिनाले लेटरमा आमा हुनुको ‘दुःख’ र रमाइलो पक्षलाई जोडेर इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन् । जसमा सैफलाई सम्बोधन गर्दै भनेकी छन्, ‘हाई सैफ, म त केवल एक आमा हुँ, जो आफ्नो पतिको अगाडि उभिएर केही भन्न चाहन्छु । तर, मलाई अहिले याद छैन कि म के भन्न चाहन्थेँ, किनकि हाम्रा बच्चाहरूले हामीलाई १७५ पटक बिचमा बोलिसके ।’

सैफ र करिनाले १६ अक्टोबर २०१२ मा विवाह गरेका थिए । करिब पाँच वर्ष लामो प्रेम सम्बन्धपछि उनीहरूले ‘कोर्ट म्यारिज’ गरेका थिए, जसपछि भव्य रिसेप्सन पार्टी आयोजना गरिएको थियो । अहिले यो जोडीका दुई छोरा छन् । तैमूर अली खान २०१६ र जहांगीर अली खान अर्थात् जेह २०२१मा जन्मिएका हुन् ।

कामको कुरा गर्दा, करिना चाँडै मेघना गुलजारको निर्देशनमा बन्न लागेको फिल्म ‘दायरा’ मा देखिँदै छिन् । यो क्राइम–ड्रामा थ्रिलर फिल्म हो । यसमा करिनाका साथ साउथ इन्डियन स्टार पृथ्वीराज सुकुमारन मुख्य भूमिका रहनेछ । फिल्मले अपराध, सजाय र न्यायबिचको द्वन्द्व तथा समाजका जटिलताहरूलाई पर्दामा उतार्ने बतान्छ । 

Back to top