×

मुम्बई । ‘इन्डियन आइडल’ विजेता गायक पवनदीप राजनले आफ्नो भयानक कार दुर्घटनाबारे पहिलो पटक मुख खोलेका छन् । सन् २०२५ मे ५ मा भएको उक्त दुर्घटनामा पवनदीपका दुवै खुट्टा भाँचिएको थियो । दुर्घटनाका कारण लामो समयदेखि चर्चा बाहिर रहेका उनले हालै एक पोडकास्टमा त्यो घटनाको बिषयमा बोलेका हुन् ।

‘भोलिपल्टको शोका लागि अहमदाबाद जानुपर्ने थियो । म राति नै एयरपोर्टका लागि निस्किएका थिए’, पवनदीपले भने, ‘हामी अलि साँझपख निस्कियौं । म सधैं जस्तै गाडीमा सुतेको थिएँ । मलाई लाग्यो बिहान उठ्दा एयरपोर्ट पुग्नेछु । तर, जब म ब्युँझिएँ, मेरा दुवै खुट्टा भाँचिएका थिए ।’  सडकमा एउटा ट्रक रोकिराखेको थियो । हाम्रो ड्राइभर निद्रामा रहेको कारण गाडी सिधै त्यो रोकिराखेको ट्रकमा ठोक्काइदिएको बताएका उनले म सुतेको हुनाले आफूलाई केही थाहा नभएको र जब होस आयो तब दुर्घटना भइसकेको बताए ।

कार्यक्रममा उनले दुर्घटनापछिको डरलाग्दो अवस्थाबारे पनि बताएका छन् । ‘दुर्घटनापछि म कार भित्रै फसेको थिएँ । मेरो एउटा हात मात्र सही सलामत थियो । गाडीमा आगो पनि लागिसकेको थियो’, उनी त्यो क्षण सुनाए ‘सुरुमा त्यहाँ भएका मानिसहरूले मलाई निकाल्न डराइरहेका थिए । पछि पुलिस आयो र एक व्यक्तिले मलाई तानेर कारबाट बाहिर निकाले ।’ अस्पताल पुगेपछि मात्र उनले आफ्नो परिवारलाई दुर्घटनाबारे जानकारी दिएको उनको भनाइ छ ।

लामो उपचार र विश्रामपछि पवनदीप अहिले निको हुँदैछन् र हिँड्न सक्ने भएका छन् । हालै उनले सलिम–सुलेमानसँग मिलेर एक सांगीतिक प्रस्तुति पनि दिएका थिए । २८ वर्षीय पवनदीप राजन इन्डियन आइडलको १२ औँ विजेता हुन् । 

Back to top