×

वीरगञ्ज । वीरगञ्ज बजारमा निर्बाध रूपमा विक्री हुँदै आएको ‘नेपवेल्ड क्वालिटी ग्यारेन्टेड’ ब्रान्डको वेल्डिङ रडमा व्यापक ठगी भइरहेको पाइएको छ ।

वीरगञ्जस्थित केके इम्पेक्स प्रालिले चीनबाट आयात गरी नेपालभर वितरण गर्दै आएको यो ब्रान्डको ५ किलोग्राम लेखिएको प्याकेटमा वास्तविक तौल ४.९४० देखि ४.९६० किलोग्राम मात्रै रहेको उपभोक्ताहरूले पत्ता लगाएका छन् । अर्थात् प्रत्येक प्याकेटमा ४० देखि ६० ग्रामसम्म तौल कम रहेको छ । ठूला प्रोजेक्टमा सयौँ प्याकेट प्रयोग हुने भएकाले एउटै ठेकेदारले लाखौँ रुपैयाँको ठगी बेहोरिरहेको उपभोक्ताहरूको भनाइ छ ।

तौलको ठगीसँगै अर्को गम्भीर समस्या पनि भेटिएको छ । प्याकेटमा अधिकतम खुद्रा मूल्य (एमआरपी) नै उल्लेख गरिएको छैन । फलस्वरूप खुद्रा पसलहरूले मनलागी मूल्य राखेर बिक्री गरिरहेका छन् । हाल बजारमा एउटा ५ केजी प्याकेट ७०० देखि ७५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

त्यति मात्र नभएर, “चीनमा उत्पादित बस्तु” भनेर सामान्य लेखिएको भए पनि चीनको कुन प्रान्त वा सहरमा कुन कम्पनीले उत्पादन गरेको हो भन्ने विवरण पूरै लुकाइएको छ । प्याकेटमा कारखानाको नाम, ठेगाना, र उत्पादक कम्पनीको लोगो वा सम्पर्क विवरण पनि उल्लेख गरिएको छैन ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ (३) मा आयातित वस्तुको प्याकेटमा नेपाली वा अङ्ग्रेजी भाषामा तौल, मूल्य, उत्पादन/आयात मिति लगायतका विवरण अनिवार्य उल्लेख गर्नुपर्ने र यस्तो विवरण नभएका सामान बिक्री वितरण गर्नै नपाइने स्पष्ट व्यवस्था छ । तर केके इम्पेक्स प्रालिले यी सबै कानुनी प्रावधानको ठाडो उल्लङ्घन गर्दै आएको देखिन्छ ।

कम्पनीको पारदर्शितामाथि पनि ठूलो प्रश्न उठेको छ । केके इम्पेक्स प्रालिको आधिकारिक ठेगाना, फोन नम्बर वा इमेल कुनै पनि सार्वजनिक माध्यम तथा व्यापारिक दर्ता विवरणमा भेटिएको छैन । कम्पनीसँग प्रतिक्रिया लिने प्रयास असफल भएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय पर्साका प्रमुख कमल प्रसाद ओझाले प्याकेटमा उल्लेख भए बमोजिम सामग्री उपलब्ध नहुनु गम्भीर विषय भएको बताए । उनले भने, “प्याकेटमा लेखिएको तौलभन्दा कम भेटिएमा आयातकर्ता र विक्रेतामाथि गुणस्तर तथा नापतौल ऐन र उपभोक्ता संरक्षण ऐनअनुसार कडा कारबाही हुन्छ । हामीसँग डिजिटल तौल मेसिनहरू छन्, उपभोक्ताले ल्याएका सामान तुरुन्त जाँच गर्छौँ ।” उनले सबै उपभोक्तालाई यस्ता शङ्कास्पद सामान देखिएमा कार्यालयमा खबर गर्न आग्रह गरेका छन् ।

वीरगञ्ज र आसपासका वेल्डर, ठेकेदार तथा निर्माण व्यवसायीहरू खुलासापछि स्तब्ध बनेका छन् । वर्षौँदेखि विश्वास गरेर प्रयोग गर्दै आएको ब्रान्डमा यति ठूलो ठगी भइरहेको थाहा पाएपछि उनीहरूले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नापतौल कार्यालय र जिल्ला प्रशासनलाई तत्काल छापा मारेर बजारमा रहेका सबै स्टक जफत गर्न र आयातकर्तामाथि मुद्दा चलाउन माग गरेका छन् ।

Back to top