×

मुम्बई । रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर' भारतीय बक्स अफिसमा २०० करोड क्लबमा प्रवेश गरिसकेको छ, तर यस फिल्मलाई ६ वटा खाडी (गल्फ) मुलुकमा प्रतिबन्ध लगाइएको छ। फिल्म निर्माताहरूको प्रयासका बाबजुद ती देशहरूमा फिल्म प्रदर्शन गर्ने अनुमति दिइएन।

बलिउड हंगामाको पछिल्लो रिपोर्टअनुसार 'धुरन्धर' बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र यूएईलगायत ६ खाडी मुलुकमा रिलिज हुने छैन। ती देशका अधिकारीहरूले फिल्मलाई ‘पाकिस्तान विरोधी’ बताउँदै प्रदर्शन अनुमति दिन अस्वीकार गरेका हुन्।

फिल्म सम्बद्ध एक निकट स्रोतले रिपोर्टमा भनेका छन्, ‘यो आशङ्का पहिलेदेखि नै थियो किनकि फिल्मलाई ‘एन्टी-पाकिस्तान फिल्म’ मानिँदैछ। टोलीले कोसिस त गर्‍यो, तर कुनै पनि देशले फिल्मको 'थिम' लाई स्वीकृति दिएन। यसै कारण 'धुरन्धर' कुनै पनि खाडी मुलुकमा रिलिज हुन पाएन।’

यता भारतमा भने फिल्मले बक्स अफिसमा बलियो प्रदर्शन गरिरहेको छ। 'धुरन्धर' ले भारतमा हालसम्म कुल २१८ करोड भारतीय रुपैयाँको कलेक्शन गरिसकेको छ। फिल्म क्रिटिक तरण आदर्शले सामाजिक सञ्जालमा पोस्ट गर्दै फिल्मले बिहीबारमा २९ करोड ४० लाख रुपैयाँको कलेक्सन गरेको जानकारी दिएका छन्, जुन फिल्मको ओपनिङ कलेक्शन (२८.६० करोड) भन्दा पनि बढी हो।

फिल्मको कुल कलेक्शनलाई हेर्दा दोस्रो सप्ताहन्तसम्ममा यो फिल्म ३०० करोड क्लबमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ। फिल्मका कलाकार र गीतहरू निरन्तर चर्चामा छन्। विशेषगरी रहमत डाँकुको भूमिका निर्वाह गरिरहेका अक्षय खन्नाको 'हुक स्टेप' निकै भाइरल भइरहेको छ।

Back to top