×

पर्सा । आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर ३ मा नयाँ पुस्ताको नेतृत्वप्रति जनआकर्षण तीव्र बन्दै गएको छ। यही क्रममा व्यावसायिक पृष्ठभूमिबाट सामाजिक सेवामा सक्रिय भएका युवा रुपेश पाण्डेय यस क्षेत्रका उर्जाशील, व्यवहारिक र ‘काम गर्ने’ नेताका रूपमा बलियो रूपमा उदाउँदै गएका छन्।

कतिपय राजनीतिक दलमा पुरानै अनुहारलाई पुनः अघि सार्ने चर्चा भइरहँदा पर्सा–३ मा भने स्थानीयवासीले पाण्डेयलाई वैकल्पिक नेतृत्वका रूपमा अघि बढाउन थालेका छन्। पछिल्ला दिनहरूमा चुनाव लक्षित छलफल, भेटघाट र जनसंवादमा सक्रिय पाण्डेय निरन्तर गाउँ–बस्ती र बजारमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

जनसंवादका क्रममा पाण्डेयले आफू समाजसँगै हुर्किएको र समाजको विकासलाई नै आफ्नो मुख्य लक्ष्य बनाएको बताउँदै चुनावमा साथ पाए क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध र मिहिन ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। समाजसेवा, समस्या समाधान र जनसम्पर्कमा केन्द्रित उनका गतिविधिले पर्सा–३ का गाउँ, बस्ती र बजारमा ‘काम गर्ने नेतृत्व’ को नयाँ पहिचान बनाइदिएको स्थानीयको बुझाइ छ।

दैनिक रूपमा चिया पसलदेखि गल्ली–चोकसम्म पुगेर जनताको समस्या सुन्ने, बुझ्ने र सम्भावित समाधानका उपाय प्रस्तुत गर्ने उनको शैलीले स्थानीयमा विश्वास बढ्दै गएको छ। पाण्डेयले अबको राजनीति नाराभन्दा योजनामा, प्रतिस्पर्धाभन्दा परिणाममा र भाषणभन्दा व्यवहारमा आधारित हुनुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका छन्।

पोखरिया, पकाहा, महुवन, चीपुरलगायत बजारलाई व्यवस्थित र आधुनिक बनाउने, कृषिमा प्रविधिकरण गर्ने, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने तथा धार्मिक स्थलको प्रवर्द्धनमार्फत रोजगारी र पर्यटन विकास गर्ने उनका एजेन्डालाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्। राष्ट्रिय निकुञ्जसँग समन्वय गरी भाडा भगवान धार्मिक गन्तव्यलाई राष्ट्रियस्तरको आकर्षण बनाउने उनको योजना पनि चर्चामा छ।

जेन–जी आन्दोलनपछि देशभर युवाको नेतृत्वको माग बढिरहेका बेला पर्सामा पनि नयाँ सोच र नयाँ पुस्ताप्रतिको अपेक्षा तीव्र बनेको छ। यही वातावरणमा पाण्डेयको निरन्तर जनसम्पर्क र सक्रियताले उनको लोकप्रियता अझ बढाएको देखिन्छ।

मानिकपुर–२ का एक स्थानीयले भने, “चुनावको बेला मात्र देखिने नेताको जमाना सकियो, समस्या सुन्ने र समाधानतर्फ लैजान सक्ने नेतृत्व पाण्डेयमै देखिन्छ।” पोखरिया बजारकी एक व्यवसायी महिलाले भनिन्, “हामीलाई ठूला भाषण होइन, बजार व्यवस्थित गर्ने र समयमै काम गर्ने नेता चाहिएको हो, पाण्डेयका योजना व्यवहारिक छन्।”

पाण्डेयले पर्सा–३ भित्रका सात स्थानीय तह र ३५ वडालाई एकीकृत दीर्घकालीन विकास योजनामा जोड्दै आर्थिक, सामाजिक र पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेका छन्। विगतमा पर्साबाट धेरै राजनीतिक प्रतिनिधि भए पनि अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै उनी अब परिणाममुखी, जिम्मेवार र पारदर्शी नेतृत्व आवश्यक भएको बताउँछन्। उनका अनुसार नेतृत्वको मूल्यांकन पार्टी नजिकियताले होइन, नागरिकका समस्या समाधान गर्ने क्षमताले हुनुपर्छ।

धर्म–संस्कृति, सामाजिक सद्भाव, सहकार्य र मेलमिलापलाई बलियो बनाउने उनको दृष्टिकोणले स्थानीयबीच उनको छवि अझ सुदृढ बनेको छ। निरन्तर जनतामाझ रहेर उनीहरूको भावना बुझ्ने पाण्डेय अहिले पर्सा–३ मात्र होइन, सिंगो जिल्लाकै युवा पुस्ताका लागि आशालाग्दा सम्भावित उम्मेदवारका रूपमा हेरिन थालेका छन्।

Back to top