बारा । बारा जिल्लाको कलैयास्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा गम्भीर अनियमितता भएको आरोप सार्वजनिक भएको छ। कार्यालय प्रमुख अर्विन्द्र दासमाथि लाखौ रुपैयाँ असुली, सत्ता र दबाबको दुरुपयोग तथा कर्मचारीमाथि कुटपिट गराएको गम्भीर आरोप लागेको हो।
२०८२ मंसिर २५ गते सम्पन्न लिखित परीक्षामा ६१५ जना परीक्षार्थी अस्वाभाविक रूपमा पास गराइएको आशंकापछि जिल्ला प्रशासन कार्यालय बाराको ध्यानाकर्षण भएको थियो। त्यसलगत्तै मंसिर २६ गते जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले ट्रायल परीक्षास्थलको सीसीटीभी फुटेज संकलन गरी टिप्पणीसहित नियन्त्रणमा लिएको प्रशासन स्रोतले जनाएको छ।
प्रशासनले संकलन गरेको प्रमाणअनुसार ट्रायल परीक्षामा करिब १ सय प्रतिशत परीक्षार्थी पास भएको देखिएको छ, जबकि प्रचलित नियमअनुसार औसतमा २५ प्रतिशत हाराहारी मात्र परीक्षार्थी उत्तीर्ण हुने गरेका छन्। सीसीटीभी फुटेजमा धेरै परीक्षार्थी नियमविपरीत ‘सुटिङ’ मार्फत पास भएको देखिएको र वास्तविक रूपमा नियम पालना गरेर पास हुने संख्या अत्यन्तै न्यून रहेको प्रशासन स्रोतको दाबी छ।
यसैबीच, कार्यालय प्रमुख दासमाथि कर्मचारीमाथि कुटपिट गरेको अर्को गम्भीर आरोप पनि बाहिर आएको छ। बुधबार साँझ करिब साढे पाँच बजे कार्यालय परिसरमै खरिदार सत्यनारायण साहमाथि कुटपिट भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार दासले हालै भएको आफ्नो सरुवाको आक्रोश साहमाथि पोख्दै “तेरो कारणले मेरो सरुवा भयो” भन्दै हातपात गर्न खोजेका थिए।
आरोपअनुसार कार्यालय प्रमुख दासले आफ्ना दुई भाइ—करार कर्मचारी भिखारी दास र बिकेश दाससँग मिलेर साहमाथि गुन्डा शैलीमा कुटपिट गरेका थिए। घटनापछि साह गम्भीर घाइते भएका थिए। सहकर्मीहरूका अनुसार दासलाई सामान्य चोट लागेको भए पनि साहमाथिको आक्रमण योजनाबद्ध र क्रूर प्रकृतिको थियो।
कार्यालय प्रमुख दास यसअघि पनि गौरस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत रहँदा कुटपिटकै कारण सरुवा भएको आरोप लाग्दै आएको छ। बारामा समेत सरकारी कार्यालयभित्रै खुलेआम सत्ता र शक्तिको दुरुपयोग भएको भन्दै कर्मचारीहरू आक्रोशित भएका छन्।
सरकारी सेवा प्रवाह हुने संवेदनशील कार्यालयलाई आतंकको केन्द्र बनाइएको आरोप लगाउँदै कर्मचारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। यस घटनाले पद, शक्ति र पहुँचको दुरुपयोगले सार्वजनिक संस्थामा कति गम्भीर असर पार्न सक्छ भन्ने कुरा पुनः उजागर गरेको छ।