×

वीरगञ्ज । पोखरिया प्रादेशिक अस्पतालमा एक समय उपकरणको अभाव देखिँदै आएकोमा अहिले उपलब्ध उपकरणहरू नै प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि पठाएका विभिन्न उपकरण सञ्चालनमा नआउँदा सेवा प्रवाह र स्वास्थ्य सुरक्षामा गम्भीर प्रश्न उठेको छ।

प्रदेश सरकारले पठाएको मेडिकल फोहर जलाएर नष्ट गर्ने उपकरण हालसम्म प्रयोगमा ल्याइएको छैन। उपकरण अस्पतालमा आएपछि एकपटक डेमो देखाइए पनि त्यसपछि सञ्चालनमा नआएको अस्पताल स्रोतले जनाएको छ। यसका कारण पोखरिया अस्पतालबाट निस्कने मेडिकल फोहरहरू अहिले पनि नगरपालिकाले अन्य सामान्य फोहरसरह विसर्जन गर्दै आएको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार मेडिकल फोहरलाई सामान्य फोहरसँगै विसर्जन गर्दा सङ्क्रमण फैलिने उच्च जोखिम हुन्छ। विभिन्न रोगका बिरामीले प्रयोग गरेका सामग्री छुट्टै व्यवस्थापन गर्नुपर्ने हुन्छ। वीरगञ्ज महानगरपालिकाले फोहर प्रशोधन केन्द्र निर्माण गर्नुअघि महानगरभित्रका दुई दर्जनभन्दा बढी अस्पतालबाट निस्कने मेडिकल फोहर सामान्य फोहरसरह विसर्जन गर्दै आएको थियो। अहिले भने मेडिकल फोहर छुट्टै सङ्कलन र विसर्जन गर्ने व्यवस्था गरिएको छ। यो कार्यका लागि महानगरको साझेदार संस्था एके इन्टरनेशनलले अस्पतालहरूबाट शुल्कसमेत लिँदै आएको छ। तर पोखरिया अस्पतालमा भने मेडिकल फोहर जथाभावी फालिने गरेको स्थानीयको गुनासो छ, जसले रोगको सङ्क्रमण फैलिन सक्ने खतरा बढाएको छ।

यसैगरी, प्रदेश सरकारले पठाएको दुईवटा शव राख्ने चिस्यान केन्द्र पनि एक वर्षभन्दा बढी समयदेखि प्रयोगविहीन अवस्थामा रहेको छ। अस्पतालमा उपलब्ध एम्बुलेन्ससमेत लामो समयदेखि मर्मत नहुँदा सञ्चालनमा आउन सकेको छैन।

यस विषयमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले मेडिकल फोहर विसर्जन गर्ने उपकरण र एम्बुलेन्स बिग्रिएको तथा बजेट अभावका कारण मर्मतसम्भार हुन नसकेको बताए। उनका अनुसार मेडिकल फोहर व्यवस्थापन उपकरण सञ्चालनका लागि आवश्यक रकम र एम्बुलेन्स मर्मतका लागि करिब अढाई लाख रुपैयाँ बजेट नहुँदा दुवै सेवा प्रभावित भएका हुन्। मर्मतका लागि बजेट माग गरिए पनि हालसम्म विनियोजन भएर नआएको उनले जानकारी दिए।

शव चिस्यान केन्द्र भने स्थान अभावका कारण प्रयोगमा ल्याउन नसकिएको डा. रौनियारको भनाइ छ। उनका अनुसार शव चिस्यान केन्द्र स्थापनाका लागि उपयुक्त स्थानको खोजी भइरहेको र चाँडै व्यवस्थापन गर्ने तयारी गरिएको छ।

उपकरण हुँदाहुँदै पनि प्रयोगमा नआउनु र मेडिकल फोहरको अव्यवस्थित व्यवस्थापनले अस्पतालको सेवा गुणस्तर र जनस्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।

Back to top