कोलोरेक्टल क्यान्सर अर्थात् आन्द्रामा हुने क्यान्सरले विश्वभरि लाखौँ मानिसहरू पीडित छन् ।
यो क्यान्सरको सबैभन्दा सामान्य प्रकारहरू मध्ये एक हो । यद्यपि, स्वस्थ आहारको माध्यमबाट तपाईं यस खतरनाक प्रकारको क्यान्सरलाई केही हदसम्म नियन्त्रण गर्न सक्नुहुन्छ।
एक नयाँ अनुसन्धानकाअनुसार हरेक दिन एक गिलास दूध पिउनाले आन्द्रामा हुने क्यान्सरको जोखिम कम गर्न मद्दत गर्न सकिन्छ । दूध समग्र स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ ।
अक्सफोर्ड विश्वविद्यालयका केरेन पेपियरद्वारा गरिएको एक हालैको अनुसन्धानअनुसार दैनिक आहारमा एक गिलास दूध पिउनाले कोलोरेक्टल क्यान्सर हुने जोखिम कम हुन सक्छ ।
१६ वर्षको यस अनुसन्धानमा ५ लाख ४२ हजार ७७८ महिलाहरूको खाने बानी र स्वास्थ्य परिणामहरूको अनुगमन गरिएको थियो । यो राम्ररी बुझ्नको लागि गरिएको थियो कि कसरी विशेष खाद्य पदार्थहरू र पोषक तत्त्वहरूले सबैभन्दा सामान्य प्रकारको क्यान्सरबाट बचाउन मद्दत गर्न सक्छ ।
१६ वर्षको अनुसन्धानअनुसार १२ हजार २५१ महिलालाई कोलोरेक्टल क्यान्सर भयो । जसले अनुसन्धानकर्ताहरूलाई खाने बानी र क्यान्सरको जोखिम बिचको सम्बन्धको बारेमा थप जानकार बनायो ।
क्यान्सरबाट बचाउने पोषकमध्ये क्याल्सियम एक भनेर पहिचान गरिएको छ । जुन महिलाहरूले बढी क्याल्सियमयुक्त खाना खाए, उनीहरूमा कोलोरेक्टल क्यान्सर हुने जोखिम कम थियो । जुनसुकै स्रोतबाट आएको भए पनि क्याल्सियमले स्वास्थ्यमा पार्ने प्रभाव एकै किसिमको पाइयो ।
अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि दैनिक दूध पिउनाले कोलोरेक्टल क्यान्सरको जोखिम कम र धेरै स्वास्थ्य लाभहरू हुन्छ । नियमित रूपमा दूध पिउनाले कोलोरेक्टल क्यान्सरको जोखिममा उल्लेखनीय कमी देखिएको छ । दही खानाले पनि यस्तै स्वास्थ्य लाभहरू देखिए ।
राइबोफ्लेभिन, म्याग्नेसियम, फस्फोरस र पोटासियम जस्ता डेरी पोषक तत्त्वहरूले पनि महत्त्वपूर्ण लाभहरू देखाएका छन् ।