मुम्बई । सनी देओलको बहुप्रतिक्षित फिल्म बोर्डर २ को टिजर अन्ततः सार्वजनिक भएको छ। निर्माण पक्षले विजय दिवसको अवसर पारेर मंगलबार टिजर रिलिज गरेको हो।
टिजर सार्वजनिक गर्नुअघि नै मेकर्सले पोस्टर जारी गर्दै यसबारे जानकारी दिएका थिए। सो पोस्टरमा सनी देओल, दिलजीत दोसांझ, वरुण धवन र अहान शेट्टी एकै फ्रेममा देखिएका थिए। टिजर सार्वजनिक भएसँगै दर्शकहरूको उत्साह बढेको छ। सामाजिक सञ्जालमा टिजरका बारेमा प्रतिक्रियाहरू आउन थालेका छन्।
बोर्डर २ दर्शकले सन् २०२६ को जनवरी २३ मा सिनेमाघरहरूमा हेर्न पाउनेछन्। यो फिल्म गणतन्त्र दिवसभन्दा ठिक तीन दिनअघि रिलिज हुँदैछ।
यो फिल्मलाई भूषण कुमार, कृष्ण कुमार, जेपी दत्ता र निधि दत्ताले निर्माण गरेका छन् भने यसको निर्देशन अनुराग सिंहले गरेका छन्। 'बोर्डर २' सन् १९९७ को सुपरहिट फिल्म ‘बोर्डर’ को सिक्वेल हो, जसमा सनी देओल, अक्षय खन्ना, सुनील शेट्टी, राखी, पूजा भट्ट, ज्याकी श्राफ लगायतका कलाकारहरूको अभिनय थियो।