×

बालबालिकाले जाडो होस् या गर्मी, कुनै पनि मौसममा आफ्नो शरीरको कसरी ख्याल राख्ने भनेर बुझेका हुँदैनन् । त्यसैले जाडो मौसममा धेरैजसो बालबालिकालाई रुघाखोकी, ज्वरो, छाला सुख्खा हुने, छाती बज्नेजस्ता समस्या देखा पर्छन्। त्यसैले आफ्ना साना बालबालिकालाई चिसोबाट जोगाउन आमा-बुबाले विशेष ध्यान दिनुपर्छ ।

न्यानो कपडा

जाडोमा बच्चालाई न्यानो कपडामा नै राख्नुपर्छ । चिसो बढेमा मोजा र हातमा लगाउने पञ्जा पनि लगाइदिन अनिवार्य हुन्छ । विद्यालय जाने बालबालिकालाई घरबाहिर जाँदा न्यानो स्वेटर, टोपी लगाउन र नफुकाल्न राम्रोसँग सम्झाउनुपर्छ । बच्चाको छाती र टाउको ढाकिराख्नु जरुरी हुन्छ । अध्ययनले देखाएअनुसार शरीरमा ३० प्रतिशत चिसो टाउकोबाट जान्छ।

बच्चालाई जाडोमा पनि सक्रिय राखिनुपर्छ । शारीरिक गतिविधिले बच्चाको शरीरमा रोगविरुद्धका कोशिकाको सङ्ख्या बढाउने भएकाले हत्तपत्त बिरामी हुँदैनन् ।

छालाको स्याहार

जाडोमा सबैको छाला सुख्खा हुन्छ। झन् बालबालिकाको नरम छाला त सुख्खा हुने र फुट्ने सम्भावना बढी रहन्छ । त्यसैले बच्चाको छालालाई पर्याप्तरूपमा हेरचाह गर्नुपर्छ । मोस्चराइजर र ओठका लागि लिप वामजस्ता सामाग्री डक्टरसँग सल्लाह गरेर लगाउनुपर्छ ।

कहिलेकाहीँ छाला सुख्खा हुने र फुट्नेजस्ता समस्याले बालबालिकालाई असहजता हुन्छ, त्यसैले आफ्ना बालबालिकाका लागि कुन मोस्चराइजरले काम गर्छ भन्ने डाक्टरसँग उचित सल्लाह लिनु राम्रो हुन्छ ।

रुघाखोकी लागेकाबाट टाढा राख्ने

सकेसम्म सामान्य ज्वरो, खोकी र संक्रमण भएका व्यक्तिबाट बच्चालाई टाढा राख्नुहोस् । संक्रामक भाइरस लक्षण गएपछि पनि ७ दिनसम्म कायम रहन सक्छ। त्यसैले संक्रमणजन्य रोगबाट बचाउन बालबालिकालाई छिटो सर्ने रोगबाट टाढा राख्न जरुरी हुन्छ ।

पोषणयुक्त खानेकुरा खुवाउनुहोस् 

जाडो मौसममा आफ्नो दैनिक आहारमा पोषणयुक्त खानाको मात्रा धेरै राख्नुहोस् । भिटामिन 'सी'युक्त सुन्तला, अमला र किवीजस्ता खाद्य पदार्थले रोग प्रतिरोधात्मक क्षमता बढाउँछन् ।

त्यस्तै जाडोमा तेल, घिउ र गुँदमा पकाएको खानेकुरा खाँदा शरीरमा न्यानो पैदा हुन्छ । झोलिलो पदार्थ, सुप, दाल, गेडागुडीको रस जाडोमा प्रशस्त मात्रामा सेवन गर्नुहोस् ।

शरीर र छालालाई आर्द्रता दिन, क्रिम, मक्खन, तेल, घिउलगायतले बनेका खानेकुरा तयार पारेर खान सकिन्छ ।

Back to top