×

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार बिहान छ बजे निधन भयो।

बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री खालिदाका पति जियाउर रहमान बंगलादेशको स्वतन्त्रता संग्रामका एक अग्रणी व्यक्तित्व थिए, जो सन् १९७७ मा राष्ट्रपति बनेका थिए।

‘लजालु गृहिणी’ थिइन् खालिदा

त्यतिबेला खालिदा जियालाई ‘लजालु गृहिणी’ भन्ने गरिन्थ्यो, जो आफ्ना दुई छोराहरूको लालनपालनमा व्यस्त थिइन्। तर, सन् १९८१ मा पतिको हत्या पछि खालिदाले बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को  नेतृत्व गरिन् र दुई पटक बंगलादेशको प्रधानमन्त्री बनिन्। 

पहिलो पटक १९९० को दशकमा प्रधानमन्त्रीको कुर्सीमा बसेकी उनलाई पछि भ्रष्टाचारको आरोप लगाइयो र धेरै वर्ष जेलमा राखियो। तर देशमा २०२४ को विद्रोह पछि उनीमाथि लगाइएका सबै आरोपहरू हटाइयो। विद्रोहले उनको प्रतिद्वन्द्वी शेख हसिनालाई सत्ताबाट हटाइदियो। 

पतिको मृत्युपछि राजनीतिमा

खालिदाको जन्म १९४५ मा पश्चिम बंगालमा भएको थियो। भारत विभाजन पछि उनी आफ्नो परिवारसँग हालको बंगलादेशमा गइन्।  १५ वर्षको उमेरमा रहमानसँग विवाह उनको विवाह भयो, त्यतिबेला रहमान सैन्य अधिकारी थिए।

सन् १९७१ मा, उनले पश्चिमी पाकिस्तानी सेना विरुद्धको विद्रोहमा भाग लिए। बंगलादेशको स्वतन्त्रताको घोषणा गरे। रहमान १९७७ मा बंगलादेशको सेना प्रमुख थिए। त्यही वर्ष उनले आफूलाई राष्ट्रपति घोषित गरे।

उनले राजनीतिक दलहरू र स्वतन्त्र मिडियालाई पुनः स्थापना गरे। पछि उनले जनताको समर्थन पनि प्राप्त गरे। आफ्नो कार्यकालमा उनले २० पटक भन्दा बढी सैन्य विद्रोहको सामना गर्नुपरेको थियो।

प्रत्येक पटक रहमानले विद्रोहीहरूसँग क्रूरतापूर्वक व्यवहार गर्दै गएको र त्यस समयमा विद्रोही सैनिकहरूको सामूहिक मृत्युदण्डको समाचारहरू पनि आएको थियो। सन् १९८१ मा चटगाउँमा सैन्य अधिकारीहरूको एउटा समूहले उनको हत्या गरिदियो। 

आफ्नो पतिको मृत्यु नभएसम्म खालिदाले सार्वजनिक जीवनमा कुनै चासो देखाएकी थिइनन्। तर रहमानको मृत्यु पछि खालिदा बंगलादेश नेशनलिस्ट पार्टीकी सदस्य र उपाध्यक्ष बनिन्।

सन् १९८२ मा, बंगलादेशमा नौ वर्षे सैन्य तानाशाही सुरु भयो। तर खालिदाले लोकतन्त्रको रक्षार्थ अभियान चलाइन्। त्यतिबेला सेनाले कहिलेकाहीं चुनावहरू गर्थ्यो, तर खालिदाले आफ्नो पार्टीलाई ती चुनावहरूमा भाग लिन अनुमति दिइनन्।

केही समय पछि उनलाई नजरबन्दमा राखियो। तैपनि, उनले सामूहिक जुलुसहरूलाई बढावा दिन छाडिनन्, त्यो दबाबको अगाडि सेना झुक्न बाध्य भयो।

खालिदा जियाले १९९१ को चुनावमा भाग लिइन् र उनको पार्टी सबैभन्दा ठूलो दलको रूपमा उभियो। त्यसपछि उनले प्रधानमन्त्रीको रूपमा शपथ लिइन्। खालिदाले पूर्व बंगलादेशी राष्ट्रपतिको अधिकांश शक्ति हातमा लिइन्। 

यससँगै उनी बंगलादेशको नेतृत्व गर्ने पहिलो महिला र मुस्लिम देशको नेतृत्व गर्ने दोस्रो महिला बनिन्। सत्तामा आएपछि खालिदाले प्राथमिक शिक्षा सबैका लागि निःशुल्क र अनिवार्य बनाइन्।

पाँच वर्ष पछि पनि उनले शेख हसिनाको अवामी लिगसँग चुनाव हारिन्। २००१ मा, खालिदा जियाले हसिनासँग बदला लिइन् र इस्लामिक दलहरूको एक समूहसँग गठबन्धन गरिन्। सँगै मिलेर उनीहरूले संसदमा लगभग दुई तिहाइ सिट जिते।

आफ्नो दोस्रो कार्यकालमा उनले महिला सांसदहरूका लागि विधानमण्डलमा ४५ सिट आरक्षित गर्न संवैधानिक संशोधन पेश गरिन्। उनले महिला शिक्षाको लागि अभियान चलाइन्। त्यतिबेला बंगलादेशमा ७०% महिला निरक्षर थिए।

अदालतका मुद्दाहरूमा फसेकी खालिदा 

२००६ अक्टोबरमा, खालिदाले निर्धारित आम चुनाव अघि प्रधानमन्त्री पद त्यागेकी थिइन्। यद्यपि, दंगाको लहरले सेनालाई हस्तक्षेप गर्न बाध्य पार्यो। नयाँ लोकतान्त्रिक चुनावको वाचा गरिएको थियो, तर चुनाव ढिलाइ भयो।

अन्तरिम सरकारले धेरैजसो राजनीतिक गतिविधिहरूमा प्रतिबन्ध लगायो र उच्च स्तरीय भ्रष्टाचारमाथि कारबाही सुरु गर्‍यो। एक वर्ष पछि, खालिदालाई जबरजस्ती चन्दा र भ्रष्टाचारको आरोपमा पक्राउ गरियो।

यसअघि, उनको कट्टर प्रतिद्वन्द्वी हसिनालाई पनि घरमै नजरबन्दमा राखिएको थियो। हसिना अवामी पार्टीकी नेता र बंगलादेशकी पहिलो राष्ट्रपतिकी छोरी हुन्। खालिदा र हसिना दुवै पछि अदालतका मुद्दाहरूमा फसे।

खालिदालाई घरमै नजरबन्दमा राखिएको थियो। २००८ मा, उनीमाथि लगाइएका प्रतिबन्धहरू हटाइए र उनले सेनाद्वारा प्रायोजित चुनावहरूमा भाग लिइन्। हसिनाले ती चुनावहरू जितिन् र प्रधानमन्त्रीको रूपमा शपथ लिइन्।

सन् २०११ मा, भ्रष्टाचार विरोधी आयोगले खालिदाविरुद्ध मुद्दा दायर गर्‍यो, जसमा उनले आफ्नो दिवंगत पतिको नाममा परोपकारी संस्थाको लागि जग्गा खरिद गर्न अघोषित आम्दानी प्रयोग गरेको आरोप लगाइएको थियो।

त्यसपछि उनलाई पक्राउ गरी जेल हालियो। यस अवधिमा, उनले आफ्नो पार्टीमाथि नियन्त्रण कायम राख्न निर्कै संघर्षको सामना गर्नुपर्‍यो। उनका समर्थकहरूले अवामी लिगले मतदानमा धाँधली गरिरहेको आरोप लगाउँदै २०१४ को चुनाव बहिष्कार गरे।

त्यसपछिका चुनावहरू स्वतन्त्र र निष्पक्ष हुन सकेनन्। बंगलादेशभरि बिएनपी कार्यकर्ताहरूलाई सामूहिक रुपमा गिरफ्तार गरियो र संसदका आधा सिटमा सांसदहरू निर्विरोध निर्वाचित गरियो।

एक वर्ष पछि खालिदाले नयाँ चुनावको माग गरिन् र सरकार विरुद्ध ठूलो विरोध प्रदर्शनको योजना बनाइन्। जवाफमा, बंगलादेशी सुरक्षा बलहरूले राजधानी ढाकामा रहेको पार्टी कार्यालयमा ताला लगाइदिएर उनलाई बाहिर निस्कन दिएनन्।

उनीहरूले शहरमा सबै विरोध प्रदर्शनहरूमा पनि प्रतिबन्ध लगाए। ‘सरकार आफ्ना जनताबाट अलग भएको छ र उसका सेवकहरूले पुरै देशलाई कैद गरेको छ’ खालिदा जियाले त्यतिबेला भनेकी थिइन्। 

खालिदाविरुद्धका आरोपहरू उनको दोस्रो कार्यकालसँग जोडिएका छन्। जुन बेला २००३ मा कार्गो टर्मिनलहरूसँग सम्बन्धित ठेक्काहरू दिनका लागि कथित रुपमा आफ्नो प्रभाव एवं शक्तिको प्रयोग गरेको आरोप छ।

उनका कान्छा छोरा अराफत रहमान कोकोमाथि ती सम्झौताहरू अनुमोदन गर्नका लागि दबाब दिएको आरोप लगाइएको थियो।

२०१८ मा, खालिदालाई प्रधानमन्त्री हुँदा स्थापित ट्रस्टका लागि हिनामिनाको अभियोगमा दोषी ठहर गरिएपछि पाँच वर्षको जेल सजाय सुनाइएको थियो।

सजायका कारण उनलाई सार्वजनिक पद धारण गर्न अयोग्य ठहराइएको थियो। आफ्नो बचाउ गर्दै उनले आफूमाथि लगाइएका आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको बताइन्।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि

एक वर्ष पछि ७३ वर्षीया खालिदालाई गम्भीर बाथ र मधुमेह जस्ता रोगको उपचारका लागि अस्पतालमा सारिएको थियो। अन्ततः स्वास्थ्य बिग्रँदै गएपछि उनलाई जेलबाट रिहा गरि घरमै बस्न आदेश दिइयो।

सन् २०२४ मा हसिनाको सरकार विरुद्ध भएको हिंसात्मक विरोधले उनलाई सत्ता त्याग्न बाध्य पार्यो। हसिना बंगलादेशबाट भागेर भारतमा शरण लिइरहेकी छिन् ।

अन्तरिम सरकारले खालिदाको रिहाइ र बैंक खातामा लागेको रोक्का हटाउने आदेश दिएको थियो। केही वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखासम्बन्धी समस्याबाट ग्रसित खालिदा जिया २० दिनदेखि भेन्टिलेटरमा उपचाररत थिइन्।

सोमबार राति चिकित्सकले खालिदाको अवस्था ‘अत्यन्तै गम्भीर’ रहेको बताए। जीवनरक्षक प्रणालीमा राखिएकी उनलाई उमेर र कमजोर स्वास्थ्यका कारण एकै समयमा धेरै उपचार गर्न सम्भव नभएको चिकित्सकहरूले बताए।

खालिदाको निधनप्रति दुख व्यक्त

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहाकार यूनुस अन्सारीले उनको निधनप्रति गहिरो दुख व्यक्त गर्दै देशले एक महान संरक्षकलाई गुमाएको बताएका छन्। 

भारतमा रहेकी पूर्व प्रधानमन्त्री हसीनाले खालिदाको निधनमा शोक व्यक्त गर्दै देशमा लोकतन्त्र स्थापनाको संघर्षमा उनको अहम भूमिका रहेको उल्लेख गरेकी छिन्।

हसिनाले खालिदाको निधन बंगलादेशको राजनीति र बंगलादेश नेशनलिस्ट पार्टीको नेतृत्वका लागि ठूलो क्षती भनेकी छिन्। हसिना र खालिदा एक अर्काका कट्टर प्रतिद्धन्दी थिए।

हसिनाका छोरा सजीब वाजिदले देशका नागरिक सुरक्षाको अभाव झेलिरहेको महत्वपूर्ण अवस्था र देशलाई अस्थिर र राजनितिबाट टाढा पुर्याउने प्रयास भइरहेका बेला खालिदाको निधनले देशको परिवर्तनमा गहिरो असर पार्ने उल्लेख गरेका छन्।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खालिदाको निधनप्रति दुख व्यक्त गर्दै उनको परिवार बंगलादेशका सबैप्रति हाम्रो गहिरो समवेदना व्यक्त गरेका छन्। 

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि खालिदाको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन्। उनले बंगलादेशको सेवा र विकासका लागि खालिदाको आजीवन योगदान एक स्थायी विरासतको रुपमा स्मरण गरिने उल्लेख गरेका छन्।  

बिबिसीबाट

Back to top