×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच भएको बृहत् एकतापछि पुराना तीन ठुला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा हलचल मच्चिएको छ ।

नयाँ तथा वैकल्पिक शक्तिहरूको एकीकरणलाई आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा ठुलो चुनौती ठानेर पुराना दलहरू राष्ट्रिय सभा निर्वाचनदेखि नै चुनावी गठबन्धनको प्रयासमा जुटेका छन् ।

स्रोतका अनुसार काँग्रेस सभापति शेरबहादुर देउवाले नेता रमेश लेखकलाई दूत बनाएर एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गोप्य छलफल गराइरहेका छन् । राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने बहानामा उनीहरूको मुख्य उद्देश्य आगामी आम निर्वाचनमा नयाँ दलहरूसँग पराजित हुने डरबाट जोगिनु रहेको विश्लेषकहरू बताउँछन् ।

रास्वपा, बालेन र कुलमानको एकताले युवा तथा सहरी मतदातामा ठुलो प्रभाव पारेको छ । रवि लामिछाने नेतृत्वको रास्वपामा बालेन र कुलमानको प्रवेशपछि निर्मित नयाँ शक्ति अब प्रधानमन्त्री पदको दाबेदार बनेको छ । जनस्तरमा वर्षौँदेखि सत्तामा रहेका पुराना दलहरूबाट दिक्क भएका नागरिकले विकल्प खोजिरहेका बेला यस्तो एकताले पुराना दलहरूको निन्द्रा हराम भएको छ । “जनताले पुराना दलहरूलाई नदोहोर्‍याउने मुड बनाइसकेका छन् । थोरै सिट भए पनि सँगै लडेर जोगिने सोचमा उनीहरू गठबन्धन खोजिरहेका छन्,” एक राजनीतिक विश्लेषकले भने ।

पुराना दलहरूले संविधानको रक्षा, देश विकास र विदेशी षड्यन्त्रका विरुद्ध एकताको भाष्य निर्माण गरेर नयाँ शक्तिमाथि जनविश्वास घटाउने प्रयास गरिरहेका छन् । काँग्रेसले नयाँ दलहरूलाई ‘बतासे’ र विचारहीन भनेर चित्रित गर्ने प्रयास गर्दै छ । तर, जनताले पुराना दलहरूको बहाना राम्रोसँग बुझेका छन् । “संविधान रक्षाको नाममा आफ्नो सत्ता जोगाउने खेल मात्र हो यो,” अर्का विश्लेषकको टिप्पणी छ ।

राष्ट्रिय सभाको १८ वटा सीटका लागि माघ ११ गतेका लागि निर्वाचन तोकिएको छ । प्रमुख तिन दलहरूले बढाएको छलफलमा काँग्रेसलाई ८, एमालेलाई ६ र नेकपालाई ३ सिट बाँडफाँट गर्ने प्रस्ताव छ । तर, राष्ट्रिय सभाको लागि गरिने गठबन्धन केवल सुरुवात मात्र हो । उनीहरूको मुख्य लक्ष्य फागुनको प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा लडेर नयाँ शक्तिलाई रोक्नु हो ।

जनतामा नयाँ शक्तिप्रति बढ्दो विश्वास र पुराना दलहरूको आन्तरिक कलहले यस्तो गठबन्धनले पनि उनीहरूलाई जोगाउन नसक्ने अनुमान गरिएको छ । “जनताले विकल्प खोजेका छन्, रास्वपा–बालेन–कुलमानको एकता त्यही विकल्पको मजबुत आधार बनेको छ,” एक युवा अभियन्ताले भने । पुराना दलहरूको यो हतारो गठबन्धन प्रयासले उनीहरूको चुनावी डरलाई नै प्रस्ट पारेको छ ।

Back to top