वीरगञ्ज । रहबर अन्सारिको काम, भूमिका र राजनीतिक सिद्धान्तलाई लिएर पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक बहस र आलोचना सुरु भएको छ। विभिन्न प्रयोगकर्ताहरूले अन्सारिले नेपालको राजनीतिक परिवर्तनमा उल्लेखनीय योगदान नगरेको आरोप लगाउँदै उनको सार्वजनिक भूमिकामाथि प्रश्न उठाइरहेका छन्।
सामाजिक सञ्जालमा व्यक्त गरिएका धारणा अनुसार अन्सारि न त जनयुद्धमा सहभागी भएका थिए, न त अन्य कुनै राजनीतिक वा सामाजिक संघर्षको अनुभव रहेको दाबी गरिएको छ। कतिपय टिप्पणीकारहरूले शहीदको बलिदान, घाइते योद्धाको त्याग र बेपत्ता परिवारको पीडासँग उनको कुनै भावनात्मक वा वैचारिक सम्बन्ध नरहेको आरोप समेत लगाएका छन्।
आलोचकहरूका अनुसार रहबर अन्सारि मूलतः व्यापारी पृष्ठभूमिबाट आएका व्यक्ति हुन् र माओवादी आन्दोलन उत्कर्षमा रहेको समयमा पार्टी प्रवेश गरी व्यक्तिगत लाभ लिएको आरोप सामाजिक सञ्जालमा उठाइएको छ। उनी अहिले फेरि अन्य राजनीतिक विकल्पतर्फ ध्यान केन्द्रित गरिरहेको दाबी पनि केही प्रयोगकर्ताहरूले गरेका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्ता व्यक्तित्वलाई आवश्यकता भन्दा बढी सार्वजनिक ‘स्पेस’ दिनु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया समेत व्यक्त गरेका छन्। उनीहरूले राजनीतिक योगदान, त्याग र विचारधाराका आधारमा मात्र नेतृत्व र पात्रहरूको मूल्याङ्कन हुनुपर्ने धारणा राखेका छन्।
हाल यी आरोप तथा टिप्पणीहरू सामाजिक सञ्जालमै सीमित छन्। रहबर अन्सारिको तर्फबाट यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन।