वीरगञ्ज । नापी कार्यालय, पर्सामा कार्यरत दुई नापी अधिकृतबीचको आपसी विवादका कारण पछिल्लो एक सातादेखि सेवाग्राहीहरू गम्भीर रूपमा मारमा परेका छन्। नापी अधिकृत अरुणकुमार सिंह र दीपककुमार सिंहबीच चुलिएको मनमुटाव र वर्चस्वको लडाइँले कार्यालयको नियमित सेवा प्रवाह प्रभावित बनेको हो।
कार्यालय स्रोतका अनुसार अधिकृत सिंहद्वयबीच वर्चस्व कायम गर्ने विषयमा विवाद शुरू भएपछि कर्मचारीहरू समेत दुई ध्रुवमा विभाजित भएका छन्। काम गराउन आएका सेवाग्राहीहरूलाई “अधिकृत छैनन्” भन्ने बहानामा तल्लो फाँटबाटै फर्काइने गरेको एक कर्मचारीले जानकारी दिए। जसका कारण नापीसम्बन्धी काम समयमै हुन नसकेको गुनासो बढ्दै गएको छ।
विवादमा तानिएका दुवै नापी अधिकृत यसअघि पनि विभिन्न आरोपका कारण विवादित छविका रूपमा चिनिँदै आएका छन्। नापी अधिकृत दीपककुमार सिंह छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग घूस लिएको आरोपमा मुछिएका थिए। सो घटनामा कार्यालयका दुई कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेपछि सिंह लामो समय सम्पर्कविहीन बनेका थिए। अख्तियारले पक्राउ परेका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि आफू जोगिएको ठानेर उनी पुनः कार्यालय सम्पर्कमा आएको बताइन्छ।
यस्तै अर्का अधिकृत अरुणकुमार सिंह पर्सा जिल्ला अदालतमा नापी सर्वेक्षकका रूपमा कार्यरत रहँदा घूस मागेको अडियो सार्वजनिक भएपछि विभागीय कारबाहीमा परेर पर्साबाट सरुवा भएका थिए। अहिले पुनः पर्सा फर्किएपछि दुवै अधिकृतबीच अधिकार र प्रभाव जमाउने होडबाजी चुलिएको हो।
दीपककुमार सिंह लामो समय अनुपस्थित भएपछि कार्यालयमा प्रभाव जमाएका अरुणकुमार सिंह, एक सातादेखि दीपक पुनः हाजिर भएपछि आफ्नो वर्चस्व कमजोर हुने आशंकामा चिढिएका देखिन्छन्। उता दीपककुमार सिंह भने आफू अनुपस्थित रहँदा अरुणले कब्जा गरेको अधिकार फिर्ता लिन आक्रामक रूपमा अघि बढेका छन्।
विवाद बढेपछि कार्यालय प्रशासनले दीपककुमार सिंहलाई नापी गोश्वारा पुरानो पानीटंकी, आदर्शनगरमा खटाएको भए पनि उनी त्यहाँ हाजिर नभएको स्रोतले जनाएको छ। दुवै अधिकृत नापी कार्यालय पर्साका पुराना र प्रभावशाली कर्मचारी मानिन्छन्। उनीहरूको इशारामा कार्यालय प्रमुख समेत चल्ने गरेको आरोप कर्मचारीहरूले लगाएका छन्।
कार्यालयका ‘कमाउ फाँट’ मा बसेका यी अधिकृतबाट केही कर्मचारीहरूको भरणपोषणसमेत हुने गरेको चर्चा रहँदै आएको छ। हाल शक्ति सन्तुलन बिग्रिएपछि कर्मचारीहरू कसको पक्षमा उभिने भन्ने अन्योलमा छन्।
अधिकृतबीचको विवाद समाचारमा आउन थालेपछि नापी कार्यालय पर्साको बदनामी बढेको छ। यसले कार्यालय प्रमुख राकेशकुमार झालाई समेत तनावमा पारेको छ। कर्मचारीहरूका अनुसार कार्यालय प्रमुख झा पनि तनावकै कारण एक सातादेखि कार्यालयमा नियमित बस्न छाडेका छन्।
अधिकृत सिंहद्वयबीचको विवादले नापी कार्यालय पर्साको सेवा प्रवाह ठप्पजस्तै बनेको छ। दुवै पक्ष एकअर्कालाई बदनाम गराउने प्रयासमा लाग्दा कार्यालयभित्र अघोषित कमाइ र भ्रष्टाचार मौलाउँदै आएको यथार्थ पनि उजागर भएको कर्मचारीहरूको भनाइ छ। भ्रष्टाचारको दलदलमा फसेको नापी कार्यालय पर्सा हाल जिल्लामा चर्चाको केन्द्र बनेको छ।