×

मुम्बई । फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म 'डन–३' फेरि एकपटक चर्चामा आएको छ । रिपोर्टका अनुसार यो आइकोनिक फ्रेन्चाइजीमा अभिनेता शाहरुख खानको पुनरागमन हुन सक्ने सम्भावना बढेको छ । समाचारका अनुसार फरहान अख्तर र शाहरुख खानबिच फिल्मलाई लिएर पुनः कुराकानी सुरु भएको छ ।

‘टेली चक्कर’को रिपोर्ट अनुसार, शाहरुख खानले फिल्ममा फर्कने सङ्केत त दिएका छन्, तर एउटा विशेष सर्तका साथ । अभिनेता शाहरुख चाहन्छन् कि ‘डन–३’ को निर्देशन दक्षिण भारतीय फिल्मका चर्चित निर्देशक एट्लीले गरुन् । शाहरुखले फरहानको अगाडि यो प्रस्ताव राखेका छन् कि यदि एट्ली यस प्रोजेक्टमा जोडिन्छन् भने मात्र फिल्ममा जोडिने बारे सोच्छन् ।

स्मरण रहोस्, शाहरुख र एट्लीले फिल्म ‘जवान’मा सँगै काम गरिसकेका छन् । एट्लीको निर्देशनमा बनेको शाहरुखको यो फिल्म बक्स अफिसमा ब्लकबस्टर साबित भएको थियो । फरहान अख्तर विगत तीन वर्षदेखि ‘डन’ फ्रेन्चाइजीको तेस्रो सिक्वेलमा काम गरिरहेका छन्, तर कलाकार छनोट (कास्टिङ) को विषयलाई लिएर यो प्रोजेक्ट लगातार अल्झिरहेको छ । सुरुमा यो फिल्मका लागि रणवीर सिंहलाई कास्ट गरिएको थियो, तर पछि उनी फिल्मबाट अलग भए ।

रणवीर सिंह बाहिरिएपछि ऋतिक रोशनलाई पनि ‘डन–३’ को अफर गरिएको थियो, तर उनले पनि फिल्म खेल्न अस्वीकार गरे । ऋतिक अहिले ‘कृष–४’ र अन्य ठूला प्यान इन्डिया फिल्महरूमा व्यस्त छन्, जसका कारण उनले यो प्रोजेक्टका लागि समय निकाल्न सकेन् ।

Back to top