×

वीरगञ्ज । नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी पछिल्ला करिब चार दशकदेखि पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट निरन्तर चुनावी मैदानमा उत्रिँदै आएका छन्। यस अवधिमा उनी मन्त्रीसमेत बनेका थिए। तर लामो राजनीतिक अनुभव र सत्तामा पहुँच हुँदाहुँदै पनि पर्सा–३ मा अपेक्षित विकास हुन नसकेको भन्दै स्थानीयस्तरमा आलोचना हुँदै आएको छ।

पर्सा क्षेत्र–३ बाट विगत ४० वर्षको अवधिमा नेपाली कांग्रेसका सुरेन्द्र चौधरी, हरिनारायण रौनियार तथा राजकुमार रौनियारजस्ता नेताहरू प्रतिनिधिसभा सदस्य बने पनि क्षेत्रको समग्र विकासमा उल्लेखनीय परिवर्तन देखिन नसकेको स्थानीयवासीहरूको गुनासो छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीजस्ता आधारभूत क्षेत्रमा ठोस प्रगति नदेखिएको उनीहरूको भनाइ छ।

यद्यपि कांग्रेसभित्र पर्सा–३ मा सुरेन्द्र चौधरीको स्पष्ट विकल्प अहिलेसम्म स्थापित हुन नसकेको देखिन्छ। यही कारण यसपटक पनि नेपाली कांग्रेसले सोही क्षेत्रबाट पुरानै अनुहार सुरेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ।

यसको विपरीत, नेकपा एमालेले भने यस निर्वाचनमा नयाँ अनुहारलाई अवसर दिएको छ। एमालेबाट युवा, जोशीला र बौद्धिक व्यक्तित्वका रूपमा परिचित रुपेश पाण्डे पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। समाजसेवाबाट राजनीतिमा प्रवेश गरेका पाण्डे परिवर्तनको एजेन्डा बोकेर चुनावी मैदानमा उत्रिएका हुन्।

स्थानीय मतदाताहरूबीच पुरानो नेतृत्वलाई निरन्तरता दिने कि नयाँ सोच र नयाँ अनुहारलाई अवसर दिने भन्ने विषयमा बहस चर्किँदै गएको छ। लामो समयदेखि उही अनुहारहरू दोहोरिँदै आएको राजनीतिप्रति असन्तुष्टि बढिरहेका बेला पर्सा–३ को निर्वाचन यसपटक फरक दिशातर्फ जान सक्ने संकेत देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

पर्सा–३ को चुनावी प्रतिस्पर्धा पुरानो अनुभव र नयाँ आशाबीचको टक्करका रूपमा हेरिन थालेको छ, जसले आगामी निर्वाचनको नतिजालाई थप चासोपूर्ण बनाएको छ।
 

Back to top