एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका बसरुदिन अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने सम्भावनाको चर्चा चलिरहेको छ । अन्सारीको रास्वपा प्रवेश गर्ने चर्चाले पर्साको राजनीतिक वृत्तमा तरङ्ग फैलाएको छ ।
रास्वपा निकट स्रोतका अनुसार, पर्सा निर्वाचन क्षेत्र १, २, ३ र ४ का उम्मेदवारहरूको चुनावी अभियानलाई सघाउन पार्टीका वरिष्ठ नेता बालेन शाह फागुनको पहिलो साता वीरगञ्ज आउने कार्यक्रम तय भएको छ । सो अवसरमा एमाले नेता अन्सारीलाई पार्टीमा प्रवेश गराउने तयारी भइरहेको चर्चा चलिरहेको छ ।
नेकपा (माओवादी केन्द्र) त्यागेर बारा निर्वाचन क्षेत्र नं. ४ बाट रास्वपाको तर्फबाट चुनावी मैदानमा रहेका रहबर अन्सारीले बसरुदिन अन्सारीलाई रास्वपामा भित्र्याउन बालेन शाहसँग लबिङ गरेको दाबी स्रोतले गरेको छ । यस क्रममा आगामी स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवारका रूपमा अन्सारीलाई अघि सार्ने तयारी भएको पनि चर्चा भइरहेको छ ।
तर, बसरुदिन अन्सारीले यसबारे स्पष्ट पारेका छन् । उनले भने, “मेयरमा चुनाव लड्ने विषयमा सोचिरहेको छु, तर अहिले नै रास्वपामा प्रवेश गर्ने निर्णय भएको छैन ।”
उता, नेकपा एमालेका नेताहरूले आगामी स्थानीय निर्वाचनका लागि वीरगञ्ज मेयर पदमा वर्तमान मेयर राजेशमान सिंहलाई उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरिरहेका छन् । पर्सा – १ मा एमालेबाट उम्मेदवार बनेका पूर्व मन्त्री प्रदीप यादवले पार्टी प्रवेश गर्दा सिंहलाई मेयरको टिकेट दिलाउने आश्वासन दिएका छन् । अर्कोतर्फ, वीरगञ्जका पूर्व मेयर विजयकुमार सरावगी पनि एमालेबाटै मेयरमा चुनाव लड्ने तयारीमा छन् ।
राजनीतिक विश्लेषकहरूको अनुसार, अन्सारीले एमालेभित्र मेयर पदको टिकट सुरक्षित नदेखेपछि वैकल्पिक रूपमा रास्वपा रोज्न सक्ने सम्भावना रहेको छ ।