वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा एक वर्षअघि विद्यार्थी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडपछि जडान गरिएका कार्यालय सामग्रीको भुक्तानी नहुँदा आपूर्तिकर्ता कम्पनीले ती सामग्री फिर्ता लगेको छ। यस घटनाले नगरपालिकाको सेवा प्रवाह र प्रशासनिक व्यवस्थापनमा असर पर्ने देखिएको छ।
विद्यार्थी आन्दोलनका क्रममा कार्यालयमा रहेका फर्निचर, एसी, सीसी क्यामेरा, सोफा, कार्पेटलगायत सामग्री जलेर नष्ट भएपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवको कार्यकालमा आवश्यक सामग्री जडान गरी कार्यालय सञ्चालनमा ल्याइएको थियो।
तर सामग्री खरिद तथा जडानसम्बन्धी कार्यादेश (वर्क अर्डर) समयमै जारी नभएको र भुक्तानी प्रक्रिया अगाडि नबढाइएका कारण समस्या उत्पन्न भएको बताइएको छ। वीरगञ्जस्थित काव्य कन्सल्टेन्ट कम्पनीले करिब ८ लाख रुपैयाँ बराबरका एसी, सीसी क्यामेरा, पर्दा तथा सोफा आपूर्ति गरेको भए पनि लामो समयसम्म भुक्तानी नपाएपछि जडान गरिएका सामग्री फिर्ता लगेको जनाएको छ।
नगर प्रमुख सिंहासन साहले कार्यादेशबिनै सामग्री जडान गरिएकाले भुक्तानी गर्न कानुनी तथा प्रशासनिक जटिलता रहेको बताए। उनका अनुसार सोही कारण कम्पनीले सामग्री फिर्ता लगेको हो।
यता उपप्रमुख सुष्मा कुशवाहाले आफ्नो कार्यकक्षमा जडान गरिएका सामग्रीबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएकी छन्।
नगर प्रमुख र उपप्रमुख दुवैले एक वर्षदेखि प्रयोगमा रहेका सामग्रीबारे जानकारी नभएको बताउनुले नगरपालिकाको प्रशासनिक समन्वय, जिम्मेवारी र व्यवस्थापनमाथि प्रश्न उठेको स्थानीयवासीहरूको भनाइ छ।
भुक्तानी विवादका कारण आवश्यक सामग्री फिर्ता लगिएपछि कार्यालय सञ्चालन तथा सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने देखिएको छ। साथै, यस घटनाले सार्वजनिक निकायमा खरिद प्रक्रिया, कार्यादेश जारी गर्ने प्रणाली तथा भुक्तानी व्यवस्थापनको पारदर्शिताबारे पुनः बहस सुरु गराएको छ।
स्थानीय सरोकारवालाहरूले घटनाको छानबिन गरी जिम्मेवार पक्षको पहिचान गर्न तथा सार्वजनिक स्रोत–साधनको उचित व्यवस्थापन सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।