वीरगञ्ज । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा नेपाल–भारत सीमाबारे दिएको विवादास्पद अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कडा आपत्ति जनाएका छन् ।
प्रधानमन्त्रीले रोष्ट्रमबाटै ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भनी दाबी गरेपछि चौतर्फी विरोध भइरहेका बेला साम्पाङले उनलाई ‘हुतिहारा’ को संज्ञा दिँदै कडा प्रहार गरेका हुन् । आजको संसद बैठकमा प्रधानमन्त्रीको उपस्थितिमा साम्पाङको अनुपस्थिति खट्किएको थियो, तर उनले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोख्दै प्रधानमन्त्रीको भनाइप्रति तीव्र असन्तुष्टि जनाए ।
प्रधानमन्त्रीको सम्बोधनका लागि अचानक डाकिएको सदनको बैठकबारे अनविज्ञता प्रकट गर्दै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज तालिकामा नभएको सदनको बैठक किन बोलाइयो भनेको त प्रमलाई सुटुक्कै बोलाउन रहेछ ।’ पूर्व जानकारी नहुँदा आजको बैठकमा उपस्थित हुन नपाएका साम्पाङले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर आफ्नो कडा टिप्पणी सार्वजनिक गरेका हुन् । प्रधानमन्त्रीले भारतको जमिन नेपालले मिचेको भनी संसद्मा दिएको अभिव्यक्तिलाई लिएर उनले मात्र दुई शब्दमा ‘हुतिहारा’ भनी तिखो व्यङ्ग्य गरेका छन् ।
साम्पाङको अनुपस्थितिमा आजको संसद्मा प्रधानमन्त्रीको अभिव्यक्तिमाथि सांसदहरूले सामान्य प्रश्न उठाए पनि अपेक्षा गरिएझैं ‘हंगामा’ भने हुन सकेन । तर, साम्पाङको यो छोटो टिप्पणीले उनको आगामी कडा कदमको संकेत दिएको छ ।
आफ्नो शैलीअनुसार साम्पाङले यस विषयलाई लिएर निरन्तर धारावाहिक रूपमा प्रधानमन्त्रीको आलोचना गर्ने संकेत देखिएको छ । यसअघि नै प्रधानमन्त्रीको संसद आगमनलाई लिएर पटक–पटक प्रश्न उठाउँदै आएका साम्पाङको यो पछिल्लो टिप्पणीले संसद र सरकारबीचको द्वन्द्वलाई थप पेचिलो बनाएको छ ।