×

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ मा आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तीव्र बन्दै गएको छ । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारहरू आ–आफ्नो शक्ति परिचालन गर्दै घरदैलो तथा संगठनात्मक गतिविधिमा सक्रिय देखिएका छन् ।

यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि पन्त, नेपाली कांग्रेसका अनिल रुँगटा, नेकपा एमालेका प्रदीप यादव, जसपा नेपालका रामरेश प्रसाद यादव, राप्रपाका नन्दु श्रीवास्तव, उज्यालो नेपाल पार्टीका रामकिशोर सिंह पराग, नेपाल कम्युनिष्ट पार्टीका अजयकुमार चौरसिया तथा जनमत पार्टीका ओमप्रकाश शर्मा चुनावी मैदानमा छन् ।

रास्वपाका उम्मेदवार हरि पन्त होटल तथा पर्यटन व्यवसायबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् । उनी ‘जेन–जी आन्दोलन’, सुशासन, युवाकेन्द्रित एजेन्डा र नयाँ राजनीतिक संस्कृतिको नारासहित घरदैलो अभियानमा सक्रिय छन् । मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले युवाहरूको समर्थन जुटाउने प्रयास गरिरहेका छन् । पछिल्लो समय ‘घण्टी’ चुनाव चिह्नप्रतिको आकर्षण र वैकल्पिक राजनीतिबारेको बहसले अन्य दलहरूमा समेत राजनीतिक चासो बढाएको देखिन्छ ।

यता नेपाली कांग्रेसका उम्मेदवार अनिल रुँगटाले पार्टीभित्र देखिएको असन्तुष्टि र आन्तरिक मतभेदलाई व्यवस्थापन गर्दै संगठनात्मक एकतामा जोड दिएका छन् । उनले एकपक्षीय, द्विपक्षीय तथा बहुपक्षीय बैठकहरू आयोजना गरी असन्तुष्ट नेता–कार्यकर्तालाई एक ठाउँमा ल्याउने रणनीति अपनाएका छन् ।

विशेषगरी गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर २० हजार ९१७ मत प्राप्त गरेका अजयकुमार द्विवेदीलाई चुनावी अभियानमा महत्वपूर्ण भूमिका दिन छलफल भइरहेको बताइन्छ । यसका लागि चरणबद्ध वार्ता हुँदै आएको स्रोतको भनाइ छ । पुराना र नयाँ प्रभावशाली नेता–कार्यकर्तालाई समेटेर अघि बढ्ने योजनासहित कांग्रेसले यस निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर चुनावी अभियानलाई प्रभावकारी बनाउने रणनीति लिएको विश्लेषण हुन थालेको छ ।

उता, नेकपा एमालेका उम्मेदवार प्रदीप यादव पुनः तेस्रो पटक निर्वाचन जित्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । हालै एमालेमा प्रवेश गरी उम्मेदवार बनेका यादव पार्टी संगठन र कार्यकर्ताबीच विश्वास निर्माण गर्न विभिन्न पार्टी कमिटी बैठकहरूमा सक्रिय सहभागिता जनाइरहेका छन् ।

एमालेले आफ्नो संगठनात्मक शक्ति पूर्ण रूपमा परिचालन गर्ने रणनीति बनाएको देखिन्छ । पुराना नेता–कार्यकर्ता र एमालेका नेता–कार्यकर्तालाई समेटेर संयुक्त चुनावी परिचालन समिति निर्माण, विभिन्न वडामा रहेका अन्य दलका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउनेलगायत योजनामा यादव जुटेको बताइन्छ ।

यस क्षेत्रबाट जसपा नेपालका रामरेश प्रसाद यादव, राप्रपाका नन्दु श्रीवास्तव, उज्यालो नेपाल पार्टीका रामकिशोर सिंह पराग, नेपाल कम्युनिष्ट पार्टीका अजयकुमार चौरसिया तथा जनमत पार्टीका ओमप्रकाश शर्मा पनि प्रतिस्पर्धामा छन् । मतदाताहरूले उम्मेदवारका व्यक्तिगत छवि र पार्टीले सार्वजनिक गर्ने चुनावी घोषणापत्रका आधारमा आफ्नो धारणा बनाउने गरेको बताइन्छ ।

पर्सा–१ मा बहुदलीय प्रतिस्पर्धा रहेकाले निर्वाचन परिणाम अन्तिम समयसम्म अनिश्चित रहने देखिन्छ । उम्मेदवारहरूको सक्रियता, संगठनात्मक रणनीति र मतदाताको अन्तिम निर्णयले चुनावी नतिजा तय गर्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

Back to top