×

वीरगञ्ज । पर्सा जिल्ला क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार रुपेश पाण्डेले आगामी निर्वाचनमा क्षेत्रको समृद्धि र जनसुविधा सुनिश्चित गर्न छ वटा मुख्य एजेन्डा लिएर चुनावी अभियान सुरु गरेका छन्।

उनी कृषि आधुनिकीकरण, गुणस्तरीय स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, रोजगारी र उद्यमशीलता, पूर्वाधार विकास र नागरिकको आवाजमा राष्ट्रिय ध्यानाकर्षण भन्ने मुख्य क्षेत्रमा केन्द्रित योजनासहित चुनावी मैदानमा उतिएका छन्।

उम्मेदवार पाण्डेका अनुसार यी एजेन्डा कार्यान्वयनले पर्सा–३ को दीर्घकालीन विकास र जनसुविधामा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

१. कृषि आधुनिकीकरण
पाण्डेका अनुसार कृषकलाई गुणस्तरीय मलखाद र बिउ उपलब्ध गराउने, आधुनिक कृषि प्रविधि प्रयोगका लागि तालिम र प्राविधिक सहयोग प्रदान गर्ने योजना रहेको छ। परम्परागत खेतीबाट व्यावसायिक उत्पादनमा रूपान्तरण गर्दै नयाँ बाली, तरकारी, फलफूल र पशुपालनमा कृषकलाई प्रोत्साहन दिने योजना रहेको जनाइएको छ।

२. गुणस्तरीय स्वास्थ्य सेवा
सवै गाउँपालिका र वडाका स्वास्थ्य संस्था र अस्पताललाई सुविधासम्पन्न बनाउने, पोखरिया जिल्ला अस्पताललाई सुदृढीकरण गर्ने तथा बिरामी र स्वास्थ्यकर्मीका लागि गुणस्तरीय सेवा र आधुनिक उपकरण उपलब्ध गराउने योजना रहेको छ। साथै स्वास्थ्य संस्थाको डिजिटल र प्रविधिमैत्री आधुनिकीकरणलाई प्राथमिकता दिइनेछ।

३. गुणस्तरीय शिक्षा
विद्यालय सरसफाइ, विद्यार्थी–अभिभावक–शिक्षक अन्तरक्रिया कार्यक्रम, सीपमूलक शिक्षा, खेलकुद र अतिरिक्त क्रियाकलाप प्रवर्द्धन, साथै हाजिरीजवाफ, वादविवाद र वक्तृत्वकला प्रतियोगितालाई प्राथमिकतामा राखिने जनाइएको छ।

४. रोजगारी र उद्यमशीलता
देशका वरिष्ठ उद्योगपतिलाई पर्सामा उद्योग स्थापना गर्न सहजीकरण, स्थानीय स्रोत र सीपमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना, युवालाई लक्षित उद्यमशीलता, सीप तालिम र स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।

५. पूर्वाधार विकास
सडक, पुल, ढल, विजुलीबत्ती लगायतका आधारभूत पूर्वाधारको दिगो विकास, ग्रामीण बस्ती र सहरी क्षेत्रलाई जोड्ने समावेशी पूर्वाधार निर्माण, साथै विकासमा पारदर्शिता, गुणस्तर र समयपालन सुनिश्चित गर्ने योजनामा जोड दिइएको छ।

६. नागरिकको आवाजमा राष्ट्रिय ध्यानाकर्षण
९६ हजारभन्दा बढी मतदाता र क्षेत्रका सबै नागरिकका हक–हितका विषयलाई राष्ट्रिय एजेन्डामा प्रभावकारी रूपमा पुर्‍याउने, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी र पूर्वाधारका स्थानीय समस्या संसद्, मन्त्रालय र नीति निर्माण तहसम्म उठाउने योजना रहेको छ। निरन्तर संवाद, सार्वजनिक सुनुवाइ र जवाफदेही प्रणाली लागू गरिने पनि उम्मेदवारले बताए।

उम्मेदवार पाण्डेका अनुसार यी एजेन्डा कार्यान्वयनले पर्सा–३ को समग्र विकास, जनसुविधा र दीर्घकालीन समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Back to top