वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ का चर्चित राजनीतिक व्यक्तित्व मुकेश द्विवेदी फेरि नयाँ पार्टीमा प्रवेश गरेका छन्। हरेक निर्वाचनमा पार्टी परिवर्तन गर्दै आएका द्विवेदीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दल परिवर्तन गरेको चर्चा चलिरहेको छ।
जानकारीअनुसार, द्विवेदीले राजनीति जीवनमा दर्जनौँ पटक पार्टी परिवर्तन गरिसकेका छन्। उनले नेविसंघबाट राजनीति सुरु गरी कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, जनमत पार्टी हुँदै नेकपा एमाले सम्मको यात्रा तय गरेका छन्।
स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको जीत सुनिश्चित गर्न सक्रिय रहेका द्विवेदी, नतिजा सार्वजनिक भएको केही दिनमै असन्तुष्ट भएर पार्टी छाडेका थिए। त्यसपछि जनमत पार्टी प्रवेश गरेका उनी पुनः जसपा मार्फत सक्रिय भए।
हालै, प्रदीप यादव नेकपा एमाले प्रवेश गरेपछि द्विवेदी पनि एमालेसँग जोडिएको बताइन्छ। उनी अहिले पर्सा–२ की उम्मेदवार रिमा यादवको चुनावी अभियानमा सक्रिय रहेको चर्चा छ। पछिल्लो पाँच वर्षमा पाँच पटक पार्टी परिवर्तन गर्ने इतिहास भएका द्विवेदीको हालैको एमाले कार्यक्रममा भाषण सामाजिक सञ्जालमा भाइरल भएपछि फेरि चर्चा भइरहेको छ।