वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तातिएको छ। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्य मत माग्दै गाउँ–बस्ती पुगेपछि स्थानीय मतदाताले खुलेर असन्तुष्टि व्यक्त गर्न थालेका छन्।
स्थानीय बासिन्दाका अनुसार शाक्यले २०७९ सालको निर्वाचनमा विकास, रोजगारी, शिक्षा र स्वास्थ्य सेवामा सुधार ल्याउने प्रतिबद्धता जनाए पनि उनीमाथि विपक्षीसँग आर्थिक लेनदेन गरी अन्य पार्टीलाई समर्थन गरेको र चुनावमा बसिदिएको आरोपसमेत लागेको स्थानीयले बताएका छन्।
छिपहरमाई गाउँपालिकाको चर्गाहा टोलका एक मतदाताले भने, “चुनावताका बेला मीठा कुरा सुनिन्छन्, तर चुनाव सकिएपछि फोनसमेत उठ्दैन।”
स्थानीयहरूले बेरोजगारी, शिक्षा र आधारभूत सेवासम्बन्धी समस्या वर्षौंदेखि उस्तै रहेको गुनासो गरेका छन्। उनीहरूको भनाइमा नेताहरू व्यवहारिक समाधान खोज्नुभन्दा भाषण र प्रचारमा मात्र सीमित भएका छन्।
एक स्थानीय युवाले आक्रोश व्यक्त गर्दै भने, “फोटो खिच्न र भाषण गर्न मात्र नेता चाहिएको होइन, काम गर्ने नेता चाहिन्छ।”
रास्वपा उम्मेदवार शाक्यको पछिल्लो चुनावी गतिविधिप्रति सामाजिक सञ्जालमा पनि आलोचना बढ्दै गएको देखिन्छ। कतिपय प्रयोगकर्ताले उनलाई ‘चुनावी नेता’ भन्दै टिप्पणी गरेका छन्। बढ्दो असन्तुष्टिले आगामी निर्वाचनको नतिजामा प्रभाव पार्न सक्ने संकेत देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार पर्सा–४ मा देखिएको यो असन्तुष्टि उम्मेदवार शाक्यका लागि गम्भीर चेतावनी हो। जनतासँग निरन्तर सम्पर्क, पारदर्शिता र व्यवहारिक काम नगरे विश्वास जित्न कठिन हुने उनीहरूको भनाइ छ।
यसपटक पर्साका मतदाताहरू भाषणभन्दा कामका आधारमा नेतृत्व चयन गर्ने मनस्थितिमा देखिएका छन्। भोट माग्ने बेला मात्रै होइन, सधैं जनताको साथमा रहने नेताको खोजीमा जनता रहेको स्थानीयहरूको भनाइ छ।