वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त चौरसियामाथि मतदाताबीच असन्तुष्टि र विवाद बढिरहेको छ। स्थानीय मतदाताले उनलाई सहज रूपमा स्वीकार नगरेको देखिएको छ।
अध्यक्षीय र राजनीतिक संरक्षणका कारण चौरसियाले आफ्नो स्थायी क्षेत्र नम्बर २ छोडेर नम्बर ३ मा उम्मेदवारी दिएको आरोप खुलेको छ। नेकपा एमालेका नेता तथा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जयवन्त यादवले सार्वजनिक कार्यक्रममा “क्षेत्र नम्बर २ मा अजय चौरसिया स्वयं उम्मेदवार भएकाले नातेदारलाई क्षेत्र नम्बर ३ मा सारिएको” दाबी गरेका छन्।
निर्माण व्यवसायी पृष्ठभूमिका चौरसियामाथि ठूला ठेक्कामा अनियमितता, गुणस्तरहीन काम, अधुरा आयोजना छाडेर राज्यलाई नोक्सान पुर्याएको आरोप पनि लाग्दै आएको छ। यसले उनको नैतिक हैसियत र सार्वजनिक जिम्मेवारीमाथि प्रश्न उठाएको विश्लेषण गरिन्छ।
शैक्षिक योग्यता कक्षा १० सम्म सीमित भएको र पैसाको बलमा चुनाव लड्ने प्रयास गरेको आरोप मतदाताले लगाएका छन्। क्षेत्र नम्बर २ मा पार्टीको अवस्था बलियो हुँदाहुँदै पनि कमजोर उम्मेदवार चयन गरिएको भन्दै रास्वपाभित्रै असन्तुष्टि र विवाद चुलिएको नेताहरू बताउँछन्।
कसैले “आफ्नै क्षेत्रमा मतदाता सूचीमा नाम नपरेको उम्मेदवारलाई जनताले किन भोट हाल्ने?” भन्ने प्रश्न उठाएका छन्। प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरू शैक्षिक रूपमा योग्य र सामाजिक–राजनीतिक योगदान भएका कारण चौरसिया जनअपेक्षामा पछाडि रहेको विश्लेषण भइरहेको छ।
अझै चिन्ताजनक विषय के भने, कार्यकर्ता नपाएपछि स्कुले बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग गरिएको आरोप पनि सार्वजनिक भएको छ। बालबालिकालाई झण्डा बोकाएर फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रचार गरिएको दृश्य भाइरल भइसकेको छ। यसले निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको भन्दै जनआक्रोश बढाएको स्थानीय स्रोतहरूले जनाएका छन्।
हालसम्म रामाकान्त चौरसिया स्वयं र सम्बन्धित दलले यस्ता आरोपमा स्पष्ट प्रतिक्रिया दिएका छैनन्। शैक्षिक योग्यता, नैतिकता, राजनीतिक आधार र आचारसंहिता उल्लंघनका आरोपले उनको उम्मेदवारीमाथि गम्भीर प्रश्न उठाएको छ।