×

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्सामा आगामी निर्वाचन नजिकिँदै गर्दा संगठन कमजोर हुँदै गएको संकेत देखिन थालेको छ। पार्टीभित्र आन्तरिक फुट, गुटबन्दी र नेता–कार्यकर्ता तहको असन्तुष्टिले पर्सा क्षेत्रमा पार्टीको परम्परागत पकड कमजोर बनाएको विश्लेषण गरिएको छ।

पर्सामा प्रभावशाली नेताहरूको निरन्तर बहिर्गमन, अन्य दलसँगको खुला वा अघोषित समिकरण, र कार्यकर्ता तहको निराशाले पार्टीको सांगठनिक आधार कमजोर बनाएको देखिन्छ। यसअघि जिल्ला तहका चर्चित नेता वीरेंद्र यादव, रामनरेश यादव र लालबाबु राउत समूहबाट अलग भइसकेका थिए। पछिल्लो समय पूर्व जिल्ला सभापति, पूर्व प्रदेशसभा सदस्य लगायत लामो समयदेखि क्रियाशील रहेका थुप्रै नेताहरू प्रदीप यादवको पक्षमा खुलेर उभिन थालेका छन्।

साथै, पर्साका अन्य प्रभावशाली नेताहरू प्रदीप यादव, राजेशमान सिंह, नेकपा एमालेका केन्द्रीय सदस्य विजय सरावगी तथा बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह बीचको राजनीतिक समिकरणले यसपटक जसपा नेपालको पकड घट्ने सम्भावना बलियो बनाएको देखिन्छ।

नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वभर शर्माका अनुसार “जनमत भएका अधिकांश नेताहरू एमालेमा एकत्रित भएका कारण पर्साका चारै निर्वाचन क्षेत्रमा पार्टीको स्थिति प्रभाव परेको छ।” उनले एमालेले चारै क्षेत्रमा जित सुनिश्चित हुने दाबीसमेत गरेका छन्।

अशोक राई नेतृत्वको जसपा नेपाल पर्सामा उपस्थिति झिनो हुँदै गएको, उम्मेदवारहरूप्रति चर्चा कम रहेको र आम मतदातामा आकर्षण कमजोर भएको प्रतिक्रिया पाइन्छ। यसपटक मधेश आन्दोलनको कार्ड प्रभावकारी नहुने संकेत देखिएको विश्लेषकहरूले बताएका छन्।

जसपा नेपालले पर्सा क्षेत्र नं. १ मा रामनरेश यादव, क्षेत्र नं. २ मा अशोक टेमानी, क्षेत्र नं. ३ मा नागेन्द्र प्रसाद यादव र क्षेत्र नं. ४ मा कृपासिन्धु प्रसादलाई उम्मेदवार बनाएको छ। तर, राजनीतिक विश्लेषकहरूले जनमत पार्टीको अवस्था जसपा नेपालभन्दा मजबुत रहेको मूल्यांकन गरेका छन्।

समग्रमा, यस निर्वाचनमा जसपा नेपालको चारै क्षेत्रको मत प्रतिशत घट्ने (‘मिटर डाउन’) सम्भावना रहेको देखिन्छ। यद्यपि, पार्टीका नेताहरू र उम्मेदवारहरूले संगठन सुदृढ रहेको, मुद्दा मधेश केन्द्रित भएको र चारै क्षेत्रमा जित सुनिश्चित हुने दाबी निरन्तर गर्दै आएका छन्।

 

Back to top