वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विभिन्न दलका तथा स्वतन्त्र गरी २३ जना उम्मेदवार मतदाताको विश्वास जित्ने प्रयासमा छन् । यद्यपि नेपाली काँग्रेस र नेकपा (एमाले) को सङ्गठनात्मक संरचना तथा सङ्गठित मत अन्य दलको तुलनामा बलियो रहेकाले मुख्य प्रतिस्पर्धा यिनै दुई दलबिच हुने आकलन गरिएको छ ।
आसन्न निर्वाचनका लागि नेपाली काँग्रेसले सुरेन्द्र प्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले) ले रुपेश कुमार पाण्डेयलाई मैदानमा उतारेको छ । यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट छोटेलाल प्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रामाकान्त प्रसाद चौरसिया, राप्रपाबाट नवीन कुमार सिंह उम्मेदवार बनेका छन् ।
रास्वपाका उम्मेदवार चौरसिया पूर्व नेपाली काँग्रेस पृष्ठभूमिका नेता हुन् । काँग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका चौरसियाले काँग्रेसकै मत तान्न सक्ने सम्भावना देखिएकाले काँग्रेस उम्मेदवार चौधरीका लागि एमालेसँगको प्रतिस्पर्धाभन्दा पहिला आफ्नै मत जोगाउनु चुनौतीपूर्ण देखिएको छ ।
यसैगरी जनता समाजवादी पार्टीबाट नागेन्द्र प्रसाद यादव, उज्यालो नेपाल पार्टीबाट रामरुप प्रसाद साह र जनमत पार्टीबाट मालती कुमारी कुशवाहा उम्मेदवार रहेका छन् । अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उल्लेख्य लहर सिर्जना गर्न सकेको अवस्था भने देखिँदैन ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा (एमाले) का राजकुमार गुप्ता २४ हजार ३१९ मतसहित निर्वाचित भएका थिए । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीसँगको गठबन्धनका बाबजुद नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरी २४ हजार १०५ मतमा सीमित रहँदै पराजित भएका थिए । रास्वपाका उम्मेदवार अशोक कँडेलले प्रत्यक्षतर्फ ९२३ मत मात्र प्राप्त गरेका थिए ।
यस निर्वाचनमा रास्वपाको प्रभाव अघिल्लो निर्वाचनको तुलनामा उल्लेख्य रूपमा बढेको देखिन्छ । यद्यपि, अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ न्यून मत पाएकाले व्यापक लहर हुँदाहुँदै पनि नतिजा आफ्नो पक्षमा पार्न रास्वपाले कडा सङ्घर्ष गर्नुपर्ने देखिन्छ ।
काँग्रेस उम्मेदवार चौधरी अनुभवी र पुराना नेता भए पनि अघिल्ला निर्वाचनमा कमजोर सफलता दर तथा पार्टीभित्रको आन्तरिक कलह र गुटगत राजनीतिले उनलाई चुनौती थपेको छ ।
एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेय भने तुलनात्मक रूपमा युवा नेता हुन् । बलियो सङ्गठनको आधारमा निर्वाचन जित्ने रणनीतिमा रहेका पाण्डेयले कृषि आधुनिकीकरण, गुणस्तरीय मल र बिउको उपलब्धता, आधुनिक कृषि तालिम तथा व्यावसायिक खेती प्रवर्द्धनलाई प्रमुख एजेन्डा बनाएका छन् ।
स्वास्थ्य क्षेत्रमा वडा स्तरका स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउने, पोखरिया जिल्ला अस्पतालको सुदृढीकरण र डिजिटल स्वास्थ्य प्रणाली विकास गर्ने योजना उनले अघि सारेका छन् ।
शिक्षा क्षेत्रमा गुणस्तरीय र सिपमूलक शिक्षामा जोड, विद्यालय सरसफाइ, शिक्षक–अभिभावक–विद्यार्थी अन्तरक्रिया, अतिरिक्त क्रियाकलाप तथा रोजगारी र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम उनका अन्य प्रमुख प्रतिबद्धता हुन् ।
पूर्वाधार विकास अन्तर्गत सडक, पुल, ढल र बिजुली निर्माण तथा विकासका कार्यमा पारदर्शिता, गुणस्तर र समयपालनलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ । पाण्डेयले मतदाताका समस्या संसद् र नीति निर्माण तहसम्म पुर्याउँदै सार्वजनिक सुनुवाइ र निरन्तर संवादमार्फत जबाफदेही प्रणाली विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उता, काँग्रेस उम्मेदवार चौधरीले आफ्नो लामो राजनीतिक अनुभवका आधारमा पर्सा जिल्ला, विशेषगरी क्षेत्र नम्बर–३ का समस्या नजिकबाट बुझेको दाबी गर्दै समाधानमा सशक्त भूमिका खेल्ने बताएका छन् । यद्यपि, उनका लागि सबैभन्दा ठूलो चुनौती पार्टीको सङ्गठित मत जोगाउनु नै देखिएको छ ।