×

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जालिम मियाँको पक्षमा जनसमर्थन तीव्र रूपमा बढ्दै गएपछि चुनावी माहौल तातिएको छ ।

गाउँ–गाउँ र टोल–टोलमा एमालेप्रति देखिएको उत्साहजनक समर्थनले प्रतिस्पर्धी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली काँग्रेसका उम्मेदवारहरूलाई दबाबमा पारेको स्थानीयहरूको भनाइ छ ।

घरदैलो अभियान, चुनावी सभा तथा जनसंवाद कार्यक्रमहरूमा स्थानीय नागरिकको उल्लेख्य सहभागिताले एमालेप्रति जनविश्वास थप मजबुत बन्दै गएको सङ्केत देखिएको छ । विशेषगरी युवाहरू, किसान, मजदुर तथा व्यवसायी वर्गले विकास, स्थायित्व र स्पष्ट नेतृत्वको अपेक्षासहित एमाले उम्मेदवार मियाँतर्फ समर्थन जनाइरहेका छन् ।

स्थानीय मतदाताहरूका अनुसार विगतमा अधुरा र अलपत्र परेका विकास योजनाहरू पूरा गर्न सक्ने क्षमता र अनुभव भएको दलका रूपमा एमालेलाई हेरिएको छ । “अब भाषण होइन, काम गरेर देखाउने नेतृत्व चाहिन्छ,” भन्ने जनभावनाले एमालेको चुनावी अभियानलाई थप ऊर्जा दिएको स्थानीयहरूको प्रतिक्रिया छ ।

एमाले उम्मेदवार जालिम मियाँले शिक्षा, स्वास्थ्य, सडक तथा पूर्वाधार विकास, रोजगारी सिर्जना र सुरक्षालाई आफ्नो प्रमुख चुनावी एजेन्डाका रूपमा अघि सारेका छन् । घरदैलो तथा भेटघाटका क्रममा उनले विकास र सुशासनप्रति आफ्नो स्पष्ट प्रतिबद्धता दोहोर्‍याउँदै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।

उता, जनलहर आफ्नो पक्षमा नआएको महसुस गरेपछि प्रतिस्पर्धी दलका उम्मेदवारहरू आलोचनामुखी गतिविधिमा केन्द्रित हुन थालेको टिप्पणी पनि स्थानीय स्तरमा हुन थालेको छ । तर मतदाताहरू भने नकारात्मक राजनीतिभन्दा परिणाममुखी, उत्तरदायी र जनउत्तरदायी नेतृत्व खोजिरहेको स्पष्ट देखिन्छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार पर्सा–४ मा देखिएको वर्तमान जनलहर आगामी मत परिणाममा निर्णायक बन्न सक्ने सम्भावना उच्च छ । बढ्दो जनउत्साह, सक्रिय सहभागिता र सङ्गठित अभियानले यस क्षेत्रको चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको विश्लेषण गरिएको छ ।

हालको राजनीतिक माहौललाई नियाल्दा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) बलियो अवस्थामा देखिएको टिप्पणी विश्लेषकहरू गर्छन् ।

अर्कोतर्फ, यसअघि पटक–पटक निर्वाचित भएर सांसद तथा मन्त्रीसमेत भइसकेका नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले क्षेत्रको समग्र विकासमा अपेक्षाअनुसार योगदान गर्न नसकेको, एकलौटी ढङ्गले राजनीति गरेको तथा जनचाहनाअनुसार काम नगरेको आरोप स्थानीय स्तरमा लाग्दै आएको छ ।

त्यस्तै, रास्वपाका उम्मेदवार टेकबहादुर शाक्यलाई नयाँ र अनुभवहीन व्यक्ति भएको, टिकटका लागि पार्टी परिवर्तन गर्दै आएको तथा पार्टीको नाम मात्र भजाइरहेको आरोपसमेत लाग्ने गरेको छ ।

यिनै कारणहरूले गर्दा पर्सा–४ मा मतदाताको आकर्षण क्रमशः एमाले उम्मेदवार जालिम मियाँतर्फ केन्द्रित हुँदै गएको देखिन्छ ।

Back to top