वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार व्यवसायी अशोक टेमानीको राजनीतिक सक्रियता बढ्दै गएसँगै उनको भूमिकामाथि विभिन्न टिप्पणी र आलोचना सुरु भएको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा टेमानी घरदैलो तथा मतदाता भेटघाटमा सक्रिय देखिएका छन्। तर स्थानीयस्तरमा उनको राजनीतिक यात्रा जनताको सेवा भन्दा पनि व्यापारिक स्वार्थसँग जोडिएको भन्ने आरोप उठ्न थालेको छ।
स्थानीय राजनीतिक वृत्तमा टेमानीले पैसाको प्रभाव प्रयोग गरी राजनीतिमा प्रवेश गर्न खोजेको चर्चा भइरहेको छ। लामो समयदेखि उद्योग–व्यवसायमा सक्रिय रहेका टेमानीले आफ्ना उद्योगमा नेपाली कामदारभन्दा भारतीय कामदारलाई प्राथमिकता दिएको आरोप समेत लाग्दै आएको छ।
यस विषयले स्थानीय युवाहरूबीच असन्तुष्टि बढाएको बताइन्छ। रोजगारीको खोजीमा रहेका नेपाली युवालाई अवसर नदिएको भन्दै टेमानीको आलोचना भइरहेको छ।
त्यसैगरी, मधेस आन्दोलनको समयमा टेमानी आन्दोलनको विरोधमा रहेको दाबी पनि विभिन्न राजनीतिक समूह तथा स्थानीय व्यक्तिहरूले उठाउँदै आएका छन्। तर हाल उनी आफूलाई खाँटी मधेसवादी नेताको रूपमा प्रस्तुत गर्न खोजिरहेको आरोपसमेत लागेको छ।
यसले टेमानीको राजनीतिक धार र प्रतिबद्धतामाथि प्रश्न उठाएको राजनीतिक जानकारहरूको भनाइ छ। स्थानीय मतदाताहरूका अनुसार उनको सक्रियता चुनाव केन्द्रित मात्र देखिएको र जनताको दैनिक समस्या, बेरोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका विषयमा स्पष्ट योजना सार्वजनिक नगरेको भन्दै आलोचना भइरहेको छ।
कतिपयले टेमानीले व्यापारिक सुरक्षा र प्रभाव बढाउन राजनीतिलाई माध्यम बनाउन खोजेको टिप्पणी गरेका छन्। यद्यपि, उनले घरदैलोका क्रममा क्षेत्रको विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा योगदान दिने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।
पर्सा–२ मा निर्वाचन नजिकिँदै जाँदा टेमानीको उम्मेदवारी र उनको राजनीतिक उद्देश्यबारे बहस अझ चर्किँदै जाने संकेत देखिएको छ। स्थानीय स्तरमा जनताले उनको विगत, काम र प्रतिबद्धताको आधारमा मूल्यांकन गरेर निर्णय लिनुपर्ने आवाज उठ्न थालेको छ।